विपद् प्रभावित परिवारलाई एकीकृत बस्तिमार्फत स्थायी पुर्नवास गराउने गर्ने प्रकृयामा जुट्यो मैवाखोला
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपद्बाट बिस्थापित परिवारलाई एकीकृत बस्तिमार्फत स्थायी पुर्नवासका लागि प्रकृया अघि सुरु गरेको छ ।
पालिकाले बिस्थापित ६५ घर परिवारको पारिवारिक विवरण मागेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार बिस्थापित ६५ परिवारले आफ्नो परिवारका सबै सदस्यको विवरण कात्तिक २० गतेका मितिले १५ दिन भित्र पालिकामा पेश गरिसक्नुपर्ने हुन्छ । पालिकाले बिस्थापित परिवारका एकासगोल परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित अन्य आवश्कीय कागजात माग गरेको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार एकासगोल परिवारका सदस्य भन्नाले एकाघर सगोलको पति पत्नि,बाबु आमा,छोरा छोरी,धमपुत्र,धर्मपुत्री,अविबाहित छोरी,दाजु भाई,अबिबाहित दिदी बहिनी र बिबाहित महिलाको हकमा सासु ससुरा समेतलाई बुझिने छ ।
पालिकाले विपद् बिस्थापित परिवारको स्थायी पुर्नवास प्रयोजनार्थ घर र जग्गाको व्यवस्थापनका लागि बिस्थापित भई अस्थायी आवासगृहमा रहेका परिवारसंग पारिवारिक विवरण मागेको हो । २०८० साल असार २ गते भएको पहिरोका कारण बिस्थापित ६५ घर परिवारलाई पालिकाले वडा नं ३ स्थित मदन भण्डारी रंगशालामा अस्थायी एकीकृत आवास गृहमार्फत व्यवस्थापन गरिरहेको छ । पालिकाले विपद् प्रभावित निजी आवास प्रवलीकरण,पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०८३(दोस्रो संशोधन)को दफा(१२)को उपदफा ४(ख)बमोजिम लाभग्राहीलाई स्थायी आवास निर्माणका लागि घडेरी उपलब्ध गराउने प्रकृया सुरु गरेको हो । स्थानीय विपद् व्यवस्थापन समितिको कात्तिक २० गतेको निर्णय अनुसार अब विपद्बाट बिस्थापित परिवारलाई एकीकृत स्थायी आवास गृहमार्फत स्थायी पुर्नवासको प्रकृया सुरु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।