ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई चीन सरकारले अनुदानमा दियो एकथान स्काभेटर

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई चीन सरकारले एकथान स्काभेटर मेसिन अनुदानमा उपलब्ध गराएको छ । पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङले चिनिया प्रतिनिधिमण्डलका अधिकारीसंग अनुदान प्राप्ति सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै स्काभेटर बुझ्नु भएको पालिकाले जनाएको छ । स्काभेटर करिव हप्ताभित्र पालिका मेरिङदेन आइपुग्ने समेत पालिकाले जानकारी दिएको छ ।

पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार पालिकाले माग गरे अनुसार चीन सरकारले मेरिङदेन गाउँपालिकालाई एकथान स्काभेटर अनुदानमा उपलब्ध गराएको हो । मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले स्काभेटर अनुदानमा उपलब्ध गराएकोमा चीन सरकारप्रति आभार तथा उक्त कार्यको सहजीकरण र समन्वय गरिदिएकोमा फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष शेर्पाले मेरिङदेन गाउँपालिकाले गरेको आग्रह अनुसार आफुले स्काभेटर मेसिन उपलब्ध गराउने कार्यमा चीन सरकारसंग समन्वय र सहजीकरण गरेको जानकारी दिनुभयो । शेर्पा तिब्बत र चिनिया अधिकारीका विश्वासपात्र तथा नेपाल र तिब्बतका अधिकारीबिचको समन्वयकर्ताको रुपमा परिचित रहनु भएको छ ।

चीन सरकारले अनुदानमा स्काभेटर उपलब्ध गराएपछि मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले यो एक विकास निर्माणको साधन मात्र नभई मेरिङदेनको समृद्धितर्फ अघि बढ्ने यात्राको आधार भएको प्रतिक्रिया दिनु भएको छ । पालिकाको आफ्नै स्काभेटर भएपछि अब गाउँबस्ति जोड्ने सडक,ग्रामीण सडकको स्तरोन्नती,नयाँ सडक निर्माण तथा विकास पूर्वाधार विकासमा सहयोग पुग्ने पालिका अध्यक्ष हाङगामको विश्वास रहेको छ ।

Similar Posts