| |

ढुंगेसाँघुमा आँखा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण सञ्चालन

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आँखा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण आयोजना गरिएको छ । हाल देशभर आँखा पाक्ने रोगले नागरिकलाई सताइरहेका बेला मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आँखा स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत आइतबार मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा अभिमुखीकरण सञ्चालन गरिएको छ । नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित दोभान आँखा उपचार केन्द्रको आयोजनामा ढुंगेसाँघुस्थित वडा कार्यालयमा आयोजना गरिएको अभिमुखीकरणमा वडाका जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा कार्यरत प्राविधिक तथा कर्मचारी काजी थेबे र शैलेन्द्रकुमार महतोले सहजीकरण गर्नुभएको ढुंगेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार आँखा पाक्ने रोगबाट बच्ने उपाय, रोग नियन्त्रण, उपचार विधिलगायतका विषयमा सहजकर्ताले अभिमुखीकरण गराउनुभएको थियो ।
त्यस्तै मोतियाविन्दु रोग र अहिले सेतो पुतली निस्कने समय भएकाले यसको संक्रमणले हुने सापु रोगबाट बच्ने उपाय र सावधानीबारे पनि अनुशिक्षण गराइएको थियो । वडा १ भरिका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएरसमेत अभिमुखीकरण गरिने भएको छ । जसअनुसार सोमबार जनकल्याण माध्यमिक विद्यालय र मदन भण्डारी आधारभूत विद्यालयमा अभिमुखीकरण आयोजना गरिने छ । यस्तै मंगलबार सरस्वती आधारभूत र सिंह आधारभूत विद्यालय तथा बुधबार पाटी आधारभूत विद्यालय र साक्फारा आधारभूत विद्यालयमा अभिमुखीकरण आयोजना गरिने भएको छ ।
आँखा स्वास्थ्यसम्बन्धी अभिमुखीकरणका क्रममा आँखाका रोगी विद्यार्थीलाई डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले निःशुल्क चस्मा र औषधि वितरण गर्ने कार्यक्रम रहेकोसमेत वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts