ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका स्थापना भयो प्रहरी चौकी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । प्रहरी चौकी र बैंक पुग्न नसकेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकीको औपचारिक उद्घाटन गरिएको छ । प्रहरी चौकी स्थापना भएपछि अब त्यहाँ चाँडै बैंकिङ सेवा समेत सुरु हुने भएको छ । गाउँपालिका अध्यक्ष रामकुमार साँवा,प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ र ताप्लेजुङ प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले मिक्वाखोलामा स्थापित प्रहरी चौकीको संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष साँवाले प्रहरी चौकी स्थापना हुँदा आम नागरिकले शान्ति सुरक्षा र अमन चयनका लागि कोसेढुङ्गा बन्ने बिश्वास लिएको बताउनुभयो । शान्ति सुरक्षाका लागि आफुहरु प्रहरीसंग सहकार्य गर्न र प्रहरीलाइ सहयोग गर्न तयार गरेको अध्यक्ष साँवाको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी चापागाँईले नागरिक र प्रहरी बीच सहकार्य हुन सकेमा मात्र प्रहरीले शान्ति सुरक्षाका लागि बनाएको योजना कार्यान्वयन गर्न सक्ने बताउनुभयो । थोरै जनशक्ति रहेको प्रहरीको एक्लो प्रयासले मात्र समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकोले नागरिक–प्रहरी बीचमा सहकार्य अनिवार्य भएको चापागाँइको भनाइ थियो । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले प्रहरी समाजको सम्पति भएको स्मरण गर्दै सम्पतिको संरक्षण र व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका बलियो हुने बताउनुभयो । प्रहरी समाजको ‘साथी’ नै भएकोले साथीसंगको सहकार्य,सकारात्ममक सुझाव र परामर्शका आधारमा प्रहरीमा काम गर्ने उर्जा भर्न सकिने श्रेष्ठले बताउनुभयो । प्रहरीले आम नागरिकलाइ बिना पूर्वाग्रह सेवा दिने बिषयमा कञ्जुस्याँइ नगर्ने श्रेष्ठका थियो । उहाँले मातहतका सबै प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाइ जनप्रेमी र जनमैत्री भएर काम गर्न तथा आम नागरिकको शान्ति सुरक्षालाइ प्रमुख प्राथमिकतामा राख्न निर्देशन समेत दिनुभयो । मिक्वाखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सुरक्षा चुनौतीका कारण कर्मचारी समेत नबस्ने तथा आउन नमान्ने बिगतको समस्या अब हल भएको बताउनुभयो । उहाँले प्रहरी चौकी व्यवस्थापन र प्रहरी कर्मचारीको सहयोगका लागि गाउँपालिका प्रशासन हरदम तयार रहेको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष रुद्रकुमारी साँवा,आठराइ त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नाम,मेरिङ्देन गाउँपालिकाका डम्बरबहादुर आङ्देम्बे,पाथीभरा याङ्वरक गाउँपालिकाका लोकप्रसाद फागो,इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक मोहन थापा,उद्योग अधिकृत देउप्रकाश तामाङ सहितको उपस्थिति रहेको थियो । गाउँपालिकाले तत्कालका लागि सामुदायिक भवनमा राखेर प्रहरी चौकी व्यवस्थापन गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts