|

दोभान बजारका अग्निपीडितलाई राहत वितरण

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई राहत वितरण गरिएको छ । बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीका पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र ताप्लेजुङ उद्योग बाणिज्य संघले राहत वितरण गरेको हो ।
जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा बिहीबार दिउँसो १ः४० बजे आगलागी भएको थियो । सो आगलागीबाट पीडित भएका घरधनी र भाडामा बस्ने पीडित परिवारलाई राहत वितरण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको उपस्थितिमा अग्निपीडितलाई शुक्रबार राहत वितरण गरिएको छ । अग्निपीडित घरधनी आठ र भाडामा बस्नेसमेत १७ परिवारलाई राहत वितरण गरिएको समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
प्रजिअ दाहालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट अग्निपीडित प्रत्येक परिवारलाई २० हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको छ । यस्तै समितिले अग्निपीडितलाई कम्बल र स्लिपिङ ब्यागसहितका जिन्सी सामग्री पनि वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै ताप्लेजुङ उद्योग बाणिज्य संघले पनि शुक्रबार नै अग्निपीडितलाई राहत वितरण गरेको छ । बाणिज्य संघका अध्यक्ष विकास गौतमका अनुसार अग्निपीडितलाई प्रतिपरिवार ३० किलोग्राम चामल, पाँच किलोग्राम आलु वितरण गरेको छ । त्यस्तै दाल तीन किलोग्राम, चिनी दुई किलोग्राम र मरमसला वितरण गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अग्निपीडित सबै १७ परिवारलाई दुई हजार ५०० रुपियाँका दरले नगद पनि वितरण गरिएको छ । यसैगरी श्री सत्यसाई सेवा सङ्गठन नेपाल नामक संस्थाले पनि शुक्रबार अग्निपीडित प्रत्येक परिवारलाई ग्यास चुल्हो सेट, प्रेसरकुकर र थालबटुका, म्याट्रेस र कम्बल वितरण गरेको पनि उद्योग बाणिज्य सङ्घका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले बिहीबार साँझ नै अग्निपीडित परिवारलाई कम्बल, लत्ताकपडा, भाँडावर्तन लगायतका आपतकालीन राहत सामग्री वितरण गरेको थियो । मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा भएको भीषण आगलागीबाट १० वटा घर जलेर नष्ट भएको थियो ।
आगलागीबाट घर संरचना, पसल, होटल, गोदाममा रहेको अलैँची र केही नगदसमेत जलेर नष्ट हुँदा चौध करोड ५६ लाख रुपियाँ मूल्य बराबरको क्षति भएको छ । पीडित परिवारले दिएको जानकारी साथै आगलागीबाट ध्वस्त भएको वस्तु तथा अवस्थाको मूल्यांकनबाट उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।
दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट हुँदा करिव ४० करोड रुपियाँ बढी क्षति हुन पुगेको थियो । स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर दोभान बजारमा आगलागी भएको प्रहरीले अनुमान गरेको छ । दोभान बजार सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठुलो बजार तथा व्यापारिक केन्द्र हो ।

Similar Posts