फक्ताङलुङको आग्रह‘बाटो तथा सडकमा पानी नबगाउनू,पानी बगेको देखे तत्काल निकास दिन अग्रसर हुनू’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सडक तथा बाटोमा पानी बगेको देखे त्यसको उचित निकासका लागि सम्वन्धित समुदायका सदस्यले अग्रसरता लिनुपर्ने बताएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सडक तथा बाटो निर्माण गर्नु सरकारको दायित्व भएपनि त्यसको उचित संरक्षणमा समुदायको कर्तव्य झल्कनुपर्ने बताउनु भएको छ । बाटोमा पानी बगेको देख्ने बित्तिकै सम्वन्धित क्षेत्रका समुदायका सदस्यले कुटो,कोदालो,गैंती वा झम्पल लिएर पानीको निकास खोल्नेतर्फ समुदायका सदस्यले सहयोग गर्नुपर्ने पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ ।
पालिका अध्यक्ष लिम्बूले सडक बिग्रनुको मुख्य केहि कारणमध्ये बाटोमा अनावश्यक हिसावले पानी बग्नु वा बगाईनु रहेको बताउँदै पानीले सडक कटान गर्दा बाटो भत्किने,हिलाम्मे हुने र सवारी आवत–जावतमा समस्या हुने भएकोले यसतर्फ सचेत भइदिन समुदाय सदस्यसंग आग्रह गर्नु भएको छ ।
पालिकाले आफ्नो गाउँको सडक तथा बाटो आफ्नै सम्पत्ति सरह सम्झिएर सडक तथा बाटोमा पानी नलगाउन र सडक तथा बाटोमा पानी बगेको देखे त्यसको उचित निकास खोल्न आग्रह गरेको हो । कच्ची सडकमा पानी बग्दा यसले सडकलाई बिगार्ने,भत्काउने तथा यातायातका साधन सञ्चालन र आवत–जावतमा समेत समस्या सृजना हुने भएकोले पालिकाले सडक तथा बाटोमा पानी नबगाउन र पानी बगेको देखे तत्काल त्यसको उचित निकास खोल्न पालिका क्षेत्रका बासिन्दासंग पालिकाले आग्रह गरेको हो ।