आठराई त्रिबेणीमा नयाँ सुरुआत : शिक्षकको तलव मासिक रुपमा शिक्षककै व्यक्तिगत खातामा पठाउन थालियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकामा कार्यरत शिक्षकहरुको मासिक तलव शिक्षककै व्यक्तिगत खातामा पठाउन सुरु गरेको छ ।
पालिकाले लामो समय देखि शिक्षकको तलव मासिक रुपमै बिद्यालयमा निकासा गर्दै आएको बताएको छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले चालु महिनाबाट शिक्षकको तलव मासिक रुपमा शिक्षककै खातामा पठाउन थालिएको जानकारी दिनुभयो ।‘प्राविधिक समस्याका कारण ५–७ जना शिक्षकहरुको तलव उहाँहरुको व्यक्तिगत खातामा पठाउन सकिएको छैन’पालिका अध्यक्ष पोमूले भन्नुभयो । पालिका अध्यक्ष पोमूले प्राविधिक समस्या सल्टाई पालिकाभरीका सबै शिक्षकको तलव शिक्षककै व्यक्तिगत खातामा पठाउने सबै प्रकृया पालिकाले पूरा गर्ने जानकारी दिनु भएको छ ।
आठराई त्रिबेणी गाउँपालिकाले जनताका गुनासो,राय तथा सुझाव ग्रहणका लागि गत असार २ देखि ६ गतेसम्म पालिकाका प्रत्येक वडामा आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा पालिका अध्यक्ष पोमू र प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले पालिकाले मासिक रुपमै तलव दिने कार्य जारी राखेको बताउँदै भदौ–असोजबाट अब प्रत्येक शिक्षकको मासिक तलव शिक्षकको व्यक्तिगत खातामै पठाउने तयारी भइरहेको बताउनु भएको थियो । सोहि घोषणा अनुसार आठराई त्रिबेणीले शिक्षकको तलव सम्वन्धित शिक्षककै व्यक्तिगत खातामा पठाउन थालेको जनाएको छ ।
पालिकाहरुले शिक्षकको तलव सम्वन्धित बिद्यालयको माग फारमका आधारमा सम्वन्धित बिद्यालयलाई निकासा गरी बिद्यालयले शिक्षकलाई भुक्तानी गर्ने पश्चलन छ । आठराई त्रिबेणीले भने अब सोझै सम्वन्धित शिक्षककै व्यक्तिगत खातामा पठाउन थालेको हो ।