फक्ताङलुङका बिद्यालयमा सीप विकासका लागि परियोजना कार्य सुरु,सृजनशीलता,प्रतिभा र व्यवहारसँग जोड्ने अभियान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । सिकाईलाई सृजनशीलता,प्रतिभा र व्यवहारसँग जोड्न ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका बिद्यालयहरुमा सीप विकासका लागि परियोजना कार्य गराउन थालिएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालयले प्रथम त्रैमासिक परीक्षापछि माध्यमिक र आधारभूत तहका बिद्यार्थीको प्रतिभा पहिचान कार्य पूरा गरेको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार सो माविका कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीबिच चित्रकला प्रतियोगिता र कक्षा १ देखि ८ सम्मका बिद्यार्थीबिच हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको छ । पालिकाले यस्ता गतिविधिलाई बिद्यार्थीको प्रतिभा,सृजनशीलता र व्यवहारिकता मापनको आधार समेत बनाएको छ ।
पालिका अध्यक्ष लिम्बूले शिक्षा केवल किताबका पाना पढ्नु,परीक्षा दिनु र अंक प्राप्त गर्नुमात्र नभई हरेक बालबालिकाभित्र लुकेको प्रतिभा पहिचान गर्ने,आत्मविश्वास जगाउने र सपनालाई आकार दिने उज्यालो यात्रा भएको बताउँदै सीप विकासका लागि परियोजना कार्य पालिकाभरीका सबै बिद्यालयले अघि बढाउने विश्वास लिनु भएको छ । पालिका भरीका ४० वटा बिद्यालय रहेका छन् । यस्ता कार्यले सार्वजनिक शिक्षा सुधारमा महत्वपूर्ण योगदान मिल्ने पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
अतिरिक्त क्रियाकलापले बिद्यार्थीको प्रतिभा प्रष्फुटन देखि प्रतिभाको सम्मानका अवसरहरु सृजना गर्ने भएकोले पालिकाका हरेक बिद्यालयले स्थानीय आवश्यकता र सापेक्षताका आधारमा बिद्यार्थीको ज्ञान,सीप र क्षमता अभिबृद्धि हुनेगरी सीप विकासका लागि परियोजना कार्य अघि बढाउन सक्ने पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । चित्रमार्फत विद्यार्थीले आफ्ना सपना कोर्ने,अक्षरमार्फत आफ्नो अनुशासन र सौन्दर्य झल्काउँने र परियोजना कार्यमार्फत सिकाइलाई जीवन र व्यवहारसँग जोड्ने भएकोले यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास,कल्पनाशक्ति, पढाईप्रतिको एकाग्रता, सिर्जनशीलता र सिकाइप्रतिको रुचि अझ गहिरो बनाउँने पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ ।