ताप्लेजुङ जिल्ला भलिबल संघको छैटौं अधिबेशन जारी,तीनजना सम्मानित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २ । ताप्लेजुङ जिल्ला भलिबल संघको छैटौं जिल्ला अधिबेशनको क्रममा जिल्ला भलिबल संघका दुई पूर्व अध्यक्षसहित तीनजना सम्मानित हुनु भएको छ ।
सम्मानित हुनेमा जिल्ला भलिबल संघका पूर्व अध्यक्षद्धय तेजप्रताप सुब्बा र थर्ककुमार चोङवाङ(दिवस) तथा वर्तमान अध्यक्ष बिमल भण्डारी रहनु भएको छ । जिल्ला भलिबल संघको अधिबेशन यो समाचार तयार पार्दासम्म जारी रहेको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिबेशनको बन्दसत्रका लागि भलिबल संघका केन्द्रीय सदस्य डम्बर लङ्वा संयोजक रहेको तीन सदस्यीय निर्वाचन समितिलाई हलले अनुमोदन गरेको छ । निर्वाचन समितिमा अधिबक्ता सन्तोष प्रसाँइ र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल सदस्य रहनु भएको छ ।
अधिबेशनको बन्दसत्रमा प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन पेश भएका छन् । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष चन्द्रकुमार थेबेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु,कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य गीता पालुङ्वा,जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अञ्जना कडरियासहित भलिबल खेलका अगुवा व्यत्तित्वहरुको उपस्थिति रहेको छ । अधिबेशनको उद्घाटन सत्रका अथितिहरुले जिल्ला भलिबल संघको नयाँ नेतृत्व सर्वसहमतिमा चयन गर्न सल्लाह दिनु भएको छ ।