ताप्लेजुङमा प्रशासन र प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रम
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सोमवार नागरिक सुनुवाईमार्फत जनताका गुनासा,सुझाव र राय लिएका छन् ।
नागरिक सुनुवाईका क्रममा सवारी पार्किङ व्यवस्थापन देखि मानसिक सन्तुलन गुमेर सडक मानवको रुपमा रहेका नागरिकको सहज उद्धार र उनीहरुको सामाजिक पुर्नस्थापनासम्मका सवाल उठेका छन् । नागरिकहरुले सवारी भाडादर,सवारीको सुलभ व्यवस्थापन,सवारी पार्किङ,शान्ति सुरक्षासहितका सवाल उठाए भने निर्माणाधिन जिल्ला अस्पतालको निर्माण कार्यमा गति दिनुपर्ने बिषय समेत उठेको छ । उठेका सवालहरुको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल,जिल्ला प्रहरी प्रमुख कमल बजगाँइ,ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण थापासहितले जवाफ दिनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले चाडपर्व भित्रदो अवस्थामा रहेको र पाथीभरा मन्दिरका तीर्थालु समेतको चाप बढ्ने भएकोले यो समयमा हुने सवारी व्यवस्थापन र पार्किङको समस्या समाधानको उचित सम्बोधनका लागि केहिदिनभित्रै सरोकारवालाको बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो । होफ फर अल ताप्लेजुङका प्रतिनिधिले पछिल्ला तीनबर्षमा १५ जना सडक मानवको उद्धार गरी सामाजिक पुर्नस्थापना कार्यका लागि सहजीकरण गरिएको र करिव २ हजार ५ सय बढी किशोर किशोरीलाई लागु औषध दुव्र्यसन बिरुद्ध सचेतना कार्यक्रम चलाईएको बताउनुभयो । यस्ता सचेतना तथा मानवहरुको उद्धारका लागि स्थानीय सरकारसहित सम्वन्धित सबै निकायले सहजीकरण गरिदिनुपर्ने होप फर अलका प्रतिनिधिको माग रहेको थियो ।