फक्ताङलुङको अभिभावक शिक्षा : पढाई छाडेका बिद्यार्थी फेरि पढ्नका लागि बिद्यालय फर्कदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षासंगै पढ्नका लागि कक्षामा आउन छोडेका बिद्यार्थीलाई पुनःबिद्यालय फर्काउने अभियान सुरु गरेको छ ।

गाउँपालिका शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले फक्ताङलुङको सिसंवा गाउँका कक्षा ८ को पढाई छाडेका मनिष राईलाई पुनःबिद्यालयमा ल्याउने वातावरण बनेको जानकारी दिनुभयो ।‘एउटा बिद्यार्थी बिद्यालय फर्कनु भनेको एउटा भविष्य उज्यालोतर्फ फर्कनु हो’पालिका अध्यक्ष लिम्बूले भन्नुभयो । मनिष र उहाँका अभिभावकसंगको छलफल पछि मनिषले फेरि बिद्यालयमा गएर पढाईलाई निरन्तरता दिने वातावरण बनेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । पढाईको महत्व,अभिभावक शिक्षा सचेतना र पढाई छाडेका बिद्यार्थीलाई फेरि बिद्यालयमै फर्काउने वातावरणका लागि सहजीकरण गर्ने सार्मथ्य फाउण्डेसनका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पन्त र सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्रमणि केदेम सुब्बालाई पालिका शिक्षा समितिका अध्यक्ष लिम्बूले आभार प्रकट गर्नु भएको छ ।

फक्ताङलुङका कुनैपनि बालबालिका शिक्षा,अवसर र सम्भावनाबाट बञ्चित हुनु नपरोस् भन्ने अभिप्रायले पालिकाले शैक्षिक जागरणका अभियान सञ्चालन गरिरहेको पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ । अभिभावक शिक्षा त्यसकै प्रारुप भएको उहाँले बताउनुभयो । पालिकाले अहिले सबै वडाका प्रत्येक टोलमा पुगी अभिभावकहरुलाई शिक्षाको महत्व जागृत गर्दै अभिभावक शिक्षा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकाले अभिभावक शिक्षासहित प्रभावकारी शिक्षण सिकाईको सवल वातावरणका लागि शैक्षिक क्षेत्रका दातृ निकायहरु सार्मथ्य फाउण्डेसन,फेज नेपाल,एक्सन फर नेपाल,ह्युमन प्राक्टिस फाउण्डेसन,हिमालयन् डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया,पुतली सहयोग परियोजना र रिड नेपाल सहितका निकायहरुलाई समेत जिम्मेवारी दिएको छ । करिव १७ बर्ष रिड नेपालको नामबाट ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका १० वटा वडामा सञ्चालन हुँदै आएको हिमालयन् ट्रष्ट युकको आर्थिक सहयोगको शैक्षिक कार्यक्रम अहिले सार्मथ्य फाउण्डेसनबाट सञ्चालनमा छ ।

Similar Posts