फक्ताङलुङद्धारा टोलबस्ति तहमा अभिभावक शिक्षा कार्यक्रम सुरु,शैक्षिक सुझाव देखि गुनासासम्म राख्न सकिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १७ । शिक्षाको महत्व अभिभावकमा जागृत गर्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा सञ्चालन गर्न थालेको छ ।
गत भदौ २२ गते बसेको गाउँपालिका शिक्षा समितिको बैठकले सार्वजनिक शिक्षा सुधार र बालबालिकाको शैक्षिक प्रगतिका लागि अभिभावकलाई थप जिम्मेवार बनाउन पालिकाले प्रत्येक वडाका टोलबस्ति स्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । पालिका शिक्षा समितिको निर्णय अनुसार पालिकाभरीका प्रत्येक टोलबस्तिमा पुगेर अभिभावक शिक्षा सचेतना कार्यक्रम सुरु गरिएको पालिका शिक्षा समितिका अध्यक्ष एवम् पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूले पालिकाभरीका प्रत्येक वडाका टोलबस्तिमा भइरहेको अभिभावक शिक्षा सचेतना कार्यक्रममा सहभागी भएर पालिकाको शैक्षिक अवस्था सुधारका उपाय बुझ्न तथा आफुहरुलाई लागेका सुझाव र गुनासा राखिदिन अभिभावकहरुलाई आग्रह गर्नु भएको छ ।
‘शिक्षित बालबालिका नै समृद्ध फक्ताङलुङको आधार’भएको निश्कर्षका साथ हामीले अभिभावक शिक्षा कार्यक्रममार्फत पालिकाको सार्वजनिक शिक्षा सुधारलाई थप बलियो योजना बनाएका हौं’पालिका अध्यक्ष लिम्बूले भन्नुभयो । पालिकाले अभिभावक शिक्षामार्फत बिद्यालयमा बिद्यार्थीको नियमित उपस्थिति,घरमा अध्ययनका लागि लगाएको समय,गृहकार्य गरे नगरेको निगारानी,बिद्यार्थीको पढाईप्रतिको लगनशिलता देखि अभिभावकले बिद्यालयको शैक्षिक वातावरणप्रतिको खरबदारी,साझेदारी र पहरेदारीलाई प्रमुख सवालको रुपमा लिएको छ । सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक पनि उत्तिकै जिम्मेवार हुँदामात्र शिक्षण सिकाई प्रभावकारी हुने देखेपछि पालिकाले अभिभावक शिक्षालाई अभियानको रुपमा अघि सारेको पालिका शिक्षा समितिका सदस्य सचिव एवम् पालिकाका सूचना अधिकारी जयप्रसाद रिजाल बताउनुहुन्छ ।
शिक्षण सिकाईका क्रममा करिव ६ घण्टा मात्र बिद्यार्थी बिद्यालयमा रहने र बाँकी अवधि घरमै रहेर अध्ययन गर्ने भएकोले घरमा रहेको अवधिमा बिद्यार्थीको आनीवानीदेखि शिक्षण सिकाईप्रतिको लगनशिलताका बारेमा अभिभावकनै जानकार हुने गर्छन् । बिद्यार्थीको पहिलो पाठशाला नै ‘घर’ भएको निश्कर्षका साथ पालिकाले अभिभावक शिक्षामार्फत शैक्षिक सुधारमा अभिभावकको भूमिका बलियो बनाउन लागेको जनाएको छ । पालिकाले अभिभावक शिक्षासहित प्रभावकारी शिक्षण सिकाईको सवल वातावरणका लागि शैक्षिक क्षेत्रका दातृ निकायहरु सार्मथ्य फाउण्डेसन,फेज नेपाल,एक्सन फर नेपाल,ह्युमन प्राक्टिस फाउण्डेसन,हिमालयन् डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया,पुतली सहयोग परियोजना र रिड नेपाल सहितका निकायहरुलाई समेत जिम्मेवारी दिएको छ । करिव १७ बर्ष रिड नेपालको नामबाट ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका १० वटा वडामा सञ्चालन हुँदै आएको हिमालयन् ट्रष्ट युकको आर्थिक सहयोगको शैक्षिक कार्यक्रम अहिले सार्मथ्य फाउण्डेसनबाट सञ्चालनमा छ । यसअघि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पनि टोलबस्ति तहमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।