मयाम माविमा स्थापना भयो दुईलाख बढीको अक्षयकोष,शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० स्थित मयाम माविमा २ लाख रुपैयाँ बढीको अक्षयकोष स्थापना भएको छ ।
स्थानीय सामाजिक व्यत्तित्वहरुले आफ्ना बुवा–आमा तथा सासु–ससुराको स्मृतिमा २ लाख १ सय १० रुपैयाँको अक्षकोष स्थापना गर्नु भएको बिद्यालयका प्रधानाध्यापक मानबहादुर(नवीन)कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका वडा नं १० का स्वर्गीय बुवा जानबहादुर कार्की तथा आमाहरु चन्द्रमाया,विष्णुमाया र डिकुराको स्मृतिमा उहाँका छोरा तथा बुहारी क्रमशःरामबहादुर र दिलमाया तथा दीपक र इन्दिराले उक्त अक्षयकोष स्थापना गर्नु भएको हो । स्वर्गीय बुबा जानबहादुरको बार्षिक पुण्यतिथिको अवसरमा परिवारले उक्त रकम बुधवार बिद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । यो बिद्यालयकै पहिलो अक्षयकोष रहेको प्रअ कार्कीले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष गुरुङका अनुसार उक्त अक्षयकोषको ब्याजबाट विपन्न,असाहाय,लगनशिल र मेधावी बिद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिने छ । व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बिद्यालयले अक्षयकोष सञ्चालन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएकोले बिद्यालयमा स्थापना भएका अक्षयकोषको सञ्चालन पारदर्शी,व्यवस्थित र चुस्त तवरले सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
अक्षयकोष हस्तान्तरण तथा ग्रहण कार्यक्रममा बोल्दै फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले शैक्षिक क्षेत्रको उन्नयनका लागि अक्षयकोषदाताहरुले गर्नु भएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । वडापालिकाकोतर्फबाट सार्वजनिक शिक्षा सुधारको पहल अघि बढिरहेको बताउँदै वडाध्यक्ष लिम्बूले अक्षयकोषलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि बनाई लागु गरिएकोले यसले दाताहरुमा विश्वास र सहकार्यको वातावरण बन्ने अपेक्षा समेत लिनुभएको छ । वडाध्यक्ष लिम्बूले शैक्षिक विकास,उत्कृष्ट तथा असाहाय बिद्यार्थीको शैक्षिक वातावरणमा सहयोगसहितको विश्वास लिएर अक्षयकोषदाताले गर्नु भएको सहयोगप्रति वडापालिका परिवारकोतर्फबाट आभार समेत व्यक्ति गर्नु भएको छ । बिद्यालयले अक्षयकोषदाता सदस्यहरुलाई दोसल्ला तथा प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ । कार्यक्रममा वडा नं १० का वडा सचिव(अधिकृत छैटौं)सचिन रेग्मी,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,पत्रकार महासंघ ताप्लेजुङका सचिव तथा रेडियो तमोरका स्टेशन म्यानेजर कृष्ण फुरुम्बो लिम्बूसहितको उपस्थिति रहेको थियो ।