काँग्रेस ताप्लेजुङ अधिबेशन : प्रदेश १(ख)मा सभापतिसहित प्रदेश प्रतिनिधि निर्विरोध,बाँकीमा सहमतिको प्रयास जारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । नेपाली काँग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति अन्तरगत प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)को कार्य समिति र त्यहाँबाट कोशी प्रदेश अधिबेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सर्वसम्मत हुनु भएको छ ।
निर्वाचन समितिका सदस्य तथा अधिवक्ता धनबहादुर थापाका अनुसार क्षेत्रीय कार्य समितिको सभापतिमा उदयकुमार आङवुहाङ,उपसभापतिमा दुर्गा चोङ्वाङ,सचिवमा दीपक लिम्बू र सहसचिव खुल्लामा लोकेन्द्र यक्सो र सहसचिव महिलामा नरमाया केदेमको मात्र उम्मेदवारी परेको छ । थापाका अनुसार कार्य समितिका अन्य सदस्य पदमा पनि एक–एकजनाको मात्र उम्मेदवारी परेकोले कार्य समिति निर्विरोध भएपनि त्यसको औपचारिक घोषणा भने बाँकी रहेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)बाट कोशी प्रदेश समितिको अधिबेशनमा सहभागी हुने २४ जना प्रदेश प्रतिनिधि समेत निर्विरोध भएको थापाले जानकारी दिनुभयो । सोमवार प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति १(क) र १(ख)को संयुक्त अधिबेशनको उद्घाटन कार्यक्रम सकिएर मंगलवारबाट बन्दसत्र र निर्वाचन कार्यक्रम सुरु भएका हुन् । प्रदेशसभा १(क) र १(ख)बाट समान २४ जनाका दरले कोशी प्रदेश समितिको अधिबेशनका लागि प्रतिनिधि चयन हुनेछन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)को सभापतिमा ५ जना आकाँक्षी रहनु भएको छ । गणेश खिम्दिङ,लालकृष्ण चौहान,पृथ्वी पालुङ्वा,केवल मादेन र हर्कराज सुनुवार क्षेत्रीय कार्य समितिको सभापतिका लागि आफ्नो आकाँक्षा प्रस्तुत गर्नुभएको छ । प्रदेशसभा १(ख)को कार्य समिति र प्रदेश प्रतिनिधि सर्वसम्मत भएपछि प्रदेशसभा १(क)मा समेत सहमति कायम गर्न दबाब बढेको छ । नेताहरुले केन्द्रीय महाधिबेशन प्रतिनिधि,क्षेत्रीय महाधिबेशन प्रतिनिधि र क्षेत्रीय कार्य समिति सर्वसहमतिमै चयन गरी काँग्रेस ताप्लेजुङमा एकताको सन्देश दिने प्रयत्न भइरहेको बताएका छन् । जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेस एकजुट हुन आवश्यक रहेको भन्दै सहमतिका लागि अन्तिम कसरत भइरहेको जानकारी दिनुभयो । ताप्लेजुङबाट पदेन ११ सहित ४४ जना केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन हुनेछन् । हलबाट आउनुपर्ने ३३ जना महाधिबेशन प्रतिनिधिमध्ये प्रत्यक्षबाट २३ र समानुपातिकबाट १० जना छानिने व्यवस्था रहेको नेपाली काँग्रेस ताप्लेजुङका निर्वाचन अधिकृत शिवराज पोखरेलले जानकारी दिनुभयो ।