ताप्लेजुङ काँग्रेसमा प्रदेशसभा १(ख)मा आङवुहाङका नाममा सहमति,१(क)मा ५ जना आकाँक्षी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । नेपाली काँग्रेस ताप्लेजुङको प्रदेश क्षेत्रीय अधिबेशन अन्तरगत क्षेत्रीय(प्रदेश)१(ख)को नेतृत्वमा सहमति बनेको नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेस ताप्लेजुङका प्रवक्ता विश्वराज नाल्वो लिम्बूले युवा नेता उदयकुमार आङवुहाङ सभापति रहेको प्रदेश १(ख)क्षेत्रीय कार्य समितिको नेतृत्वमा सहमति कायम भएको जानकारी दिनुभयो । उक्त क्षेत्रको प्रदेश सभापतिका लागि आठराई त्रिबेणी गाउँपालिकाका पूर्व अध्यक्ष विश्वनाथ सिटौला र नेता मात्रिकाप्रसाद शेर्पा आकाँक्षी रहनु भएको थियो ।‘सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्नु भएका र क्षेत्रीय सभापतिको आकाँक्षी राखेर दावी प्रस्तुत गर्नु भएका मध्येमा भने आङवुहाङको नेतृत्वमा सर्वसम्मत रुपले क्षेत्रीय कार्य समिति बनाएर जाने कुरामा सहमति भएको छ’प्रवक्ता नाल्वोले भन्नुभयो ।
उता प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा भने ५ जनाले उम्मेदवारी घोषणा गर्नु भएको छ । गणेश खिम्दिङ,लालकृष्ण चौहान,केवल मादेन,पृथ्वी पालुङ्वा र हर्कराज सुनुवारले उम्मेदवारी घोषणा गर्नु भएको छ । उम्मेदवारी घोषणा गर्नु भएका र थप आकाँक्षीकाबिचमा छलफल गरी सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेपाली काँग्रेस ताप्लेजुङका सचिव युकहाङवीर(डम्बर)हाङगामले जानकारी दिनुभयो । नेपाली काँग्रेस ताप्लेजुङ अन्तरगत प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको अधिबेशन सोमवार हुँदैछ । अधिबेशनले प्रदेश कार्य समिति,महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने छ । वडा र पालिका अधिबेशन सकिएको काँग्रेस ताप्लेजुङमा १ हजार ४६४ जना क्षेत्रीय प्रतिनिधि रहनु भएको छ । क्षेत्रीय प्रतिनिधिले सम्वन्धित वडाको नेतृत्व,सम्वन्धित पालिकाको नेतृत्व,सम्वन्धित क्षेत्रीय कार्य समितिको नेतृत्व चयन गर्नेछन् भने महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य छान्न पनि तिनै क्षेत्रीय प्रतिनिधि निर्णायक हुनेछन् ।
दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट पदेन बाहेक २४ जनाका दरले कोशी प्रदेश अधिबेशन प्रतिनिधि चयन हुनेछन् । पदेन ११ बाहेक खुल्लाबाट २३ र समानुपातिबाट १० गरी ३३ जना महाधिबेशन प्रतिनिधि चयन हुने नेपाली काँग्रेस ताप्लेजुङका निर्वाचन अधिकृत शिवराज पोखरेलले जानकारी दिनुभयो । पदेन २ बाहेक ८ खुल्ला र ४ समानुपातिक गरी १२ जना महासमिति सदस्य समेत यसै अधिबेशनले चयन गर्ने पोखरेलले जानकारी दिनुभयो । नेपाली काँग्रेस ताप्लेजुङका प्रवक्ता नाल्वोका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको संयुक्त अधिबेशनको खुल्ला सत्र फुङलिङ वडा नं ४ स्थित स्वर्गीय हर्कजंग मादेन सार्वजनिक मञ्चमा हुने छ । बन्दसत्र र निर्वाचन कार्यक्रम अन्तरगत प्रदेशसभा १(क)को ताप्लेजुङ उद्योग वाणिज्य संघका र १(ख)को होटल जन्नु इनमा हुनेगरी तय भएको प्रवक्ता नाल्वोले जानकारी दिनुभयो ।