६० बर्ष उमेर पार गरेका नागरिकलाई स्थानीय सामाजिक सुरक्षा भत्ता दिन फक्ताङलुङले खोलिदियो बैंकखाता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । नागरिकको सम्मान,सुरक्षा र सहज जीवनका लागि ६० बर्ष देखि नै सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सासुभत्ताका लागि लाभग्राहीको खाता खोलि दिएको छ ।
पालिकाले प्रत्येक वडाबाट ६० बर्ष पूरा भई ७० बर्ष ननाघेका लाभग्राहीको सूची माग गरी अद्यावधिक भएको विवरणका आधारमा लाभग्राहीकै घरदैलोमा पुगी बैंक खाता खोलि दिएको हो । पालिकाका अनुसार ६० बर्ष पूरा भई ७० बर्ष नानाघेका सबै लाभग्राहीको बैंक खाता खोल्ने कार्य पूरा भएको छ । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले गत असार १० गते पालिकाको २० औं गाउँ अधिबेशनमा ६० बर्ष पूरा भई ७० बर्ष पूरा नभएका नागरिकलाई स्थानीय सरकारले स्थानीय सामाजिक उत्तरदायित्व रकम अन्तरगत सामाजिक सुरक्षा भत्ता दिने नीति प्रस्तुत गर्नु भएको थियो । नीति पारित भएपछि पालिका उपाध्यक्ष रवीन साम्रा(विकास)ले चालु आर्थिक बर्ष २०८३।८४ मा कार्यान्वयन हुनेगरी ६० बर्ष पूरा भई ७० बर्ष ननाघेका नागरिकलाई स्थानीय सामाजिक सुरक्षा भत्ता दिनेगरी बजेट प्रस्तुत गर्नु भएको थियो ।
संघीय सरकारले ७० बर्ष पूरा भएका नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । फक्ताङलुङमा भने ६० बर्ष पूरा भई ७० बर्ष उमेर नपुगेका नागरिकले स्थानीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउनेछन् । ७० बर्ष पूरा भएपछि उनीहरुको विवरण संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ता प्राप्ति हुने विवरणमा अद्यावधिक भई संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनेछन् भने स्थानीय सरकारले बितरण गर्ने सामाजिक सुरक्षा भत्ताको महलबाट विवरण कटौती हुने छ ।
पालिका अध्यक्ष लिम्बूले ६० बर्ष पूरा भएपछि पनि नागरिक सहायता र सामाजिक सुरक्षाको पहुँचभन्दा बाहिर रहेका नागरिकको सामाजिक हितका लागि पालिकाले चालु आर्थिक बर्षबाट ६० बर्ष उमेरबाटै सामाजिक सुरक्षा भत्ता दिने निर्णय लिएको जानकारी दिनुभयो । उमेर बढ्दै जाँदा शारीरिक क्षमता कमजोर हुने र नियमित औषधी उपचार तथा यातयात र दैनिकी सञ्चालनमा सहज होस् भन्ने उद्देश्यले पालिकाले स्थानीय सामाजिक उत्तरदायित्व अभियान अन्तरगत ६० बर्ष उमेर पार गरेका र ७० बर्ष उमेर पार नगरेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने पालिकाको निश्कर्ष रहेको समेत पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।