सहकारी संस्था ५ बिषयगत आधारमा वर्गिकरण हुनेगरी मैवाखोलाले ल्यायो सहकारी ऐन,तोकियो कार्यक्षेत्र
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा सञ्चालित तथा सञ्चालन हुने सहकारी संस्थाहरुलाई पाँच बिषयगत आधारमा वर्गीकरण हुनेगरी सहकारी ऐन कार्यान्वयनमा ल्याएको छ ।
ऐन अनुसार मैवाखा गाउँपालिका भन्दा बढी कार्यक्षेत्र कायम राखी दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुले गाउँपालिकामा सेवा सञ्चालन गर्दा सञ्चालित सेवाको विवरणसहित दर्ता गर्ने अधिकारीलाई अनिवार्य जानकारी दिनुपर्ने छ । पालिकाले जारी गरेको सहकारी ऐन अनुसार उत्पादन संस्था,उपभोक्ता संस्था,श्रमिक संस्था,बहुउद्देश्यीय संस्था र वित्तीय संस्था गरी बिषयगत आधारमा सहकारी सञ्चालनको अवस्थालाई पाँच क्षेत्रमा विभाजन गर्नुपर्ने छ । बिषयगत क्षेत्रमा आधारमा सञ्चालन हुने पाउने पालिकाको सहकारी ऐनले भनेको छ ।
ऐन अनुसार उत्पादक संस्थाभित्र कृषि,पशुपालन,दुग्ध,चिया,कफी,उखु,तरकारी,अलैंची,अम्लिसो,अदुवा,लोक्ता,फलफूल,विद्युत र माछापालन बिशेषका बिषयगत र अन्नवाली एवम् उत्पादन समेतको योजनाका आधारमा अन्य उत्पादनमूलक संस्था पर्नेछन् । उपभोक्ता सहकारी संस्थाभित्र बजार श्रिंखलामा आधारित,उपभोक्ता भण्डार र स्वास्थ्य बिशेषका बिषयगत र प्राथमिक आवश्यकता एवम् सेवाको योजना समेतका आधारमा अन्य उपभोगजन्य संस्था पर्नेछन् । श्रमिक सहकारी संस्था भित्र हस्तकला,खाद्य परिकार,औद्योगिक उत्पादन,भोजनालय र श्रम करार बिशेषका बिषयगत र सीप वा श्रमको बिशेषता एवम् स्वरोजगारी योजना समेतका आधारमा अन्य श्रममा आधारित संस्था पर्नेछन् ।
बहुउद्देश्यीय संस्था भित्र उत्पादन,उपभोग र श्रम वा सीपमा आधारित स्वरोजगारीका सेवा समेत सञ्चालन गर्ने अन्य बहमुखी सहकारी संस्था पर्नेछन् । वित्तीय सहकारी संस्था भित्र बचत तथा ऋण सहकारी संस्था पर्नेगरी पालिकाले सहकारी ऐनद्धारा सहकारी सञ्चालनको बिषयगत वर्गीकरण गरेको छ । पालिकाले सहकारी ऐन अनुसार सहकारी संस्थाको कार्यक्षेत्र समेत निर्धारण गरेको छ । सहकारी मूल्य,मान्यता र सिद्धान्त अनुरुप स्थानीय स्तरमा छरिएर रहेको पुँजी,प्रविधि तथा प्रतिभालाई स्वावलम्बन तथा पारस्पारिकताका आधारमा एकीकृत गर्दै सदस्यको आर्थिक,सामाजिक तथा साँस्कृतिक उन्नयन गर्न,समुदायमा आधारित,सदस्य केन्द्रित,लोकतान्त्रिक,स्वायत्त र सुशासित संगठनको रुपमा सहकारी संस्थाहरुको प्रर्वद्धन गर्न पालिकाले सहकारी ऐन ल्याएको समेत जनाएको छ ।