जनता माविका २७ जना सेवानिवृत पूर्वशिक्षकलाई सम्मान
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ३० । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा वडा कार्यालयले सेवानिवृत भएका सत्ताइस जना पूर्व शिक्षकलाई सम्मान गरेको छ । सोमबार हाङ्देवास्थित जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमकाबिच वडाले पूर्व शिक्षकहरुलाई सम्मान गरेको हो ।
६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा जनता मावि र हाङ्देवा वडा कार्यालयले संयुक्त रुपमा आयोजित कार्यक्रममा सेवानिवृत पूर्व शिक्षकहरुलाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय पतङ्वा लिम्बूका अनुसार २७ जना सेवानिवृत पूर्व शिक्षकलाई कदरपत्रसहित सम्मान गरिएको छ ।
शिक्षकको जिम्मेवारीमा रहेर विद्यालय र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पूर्व शिक्षकहरुलाई सम्मान गरिएको विव्यस अध्यक्ष पतङ्वाले जानकारी दिनुभयो । वडा कार्यालयले सात जना स्वास्थ्यकर्मीलाई समेत सम्मान गरेको जनाइएको छ । हाल साहित्य क्षेत्रमा सक्रिय रहँदै आउनुभएका जनता माविका पूर्व विद्यार्थी लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा मुक्कुम) लाई विद्यालयले सम्मान गरेको छ ।
यस्तै राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विभिन्न अतिरिक्त र सिर्जनात्मक क्रियाकलापहरुमा उत्कृष्ठ भएका विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर गुरुङले जानकारी दिनुभयो । प्रधानाध्यापक गुरुङका अनुसार पूर्व विद्यार्थीहरु सागर माबोहाङ, सञ्जय पतङ्वा लिम्बू, लक्षुमन गुरुङ र गोविन्द बरालले संयुक्तरुपमा ३० हजार रुपियाँ बराबरको विद्यालयलाई रबरको कर्सी उपलब्ध गराउनुभएको छ ।
यता राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मानित पूर्वशिक्षक र उत्कृष्ठ विद्यार्थीलाई वडाध्यक्ष लक्षुमन गुरुङ, विव्यस अध्यक्ष पतङ्वा, प्रधानाध्यापक गुरुङ लगायतले सम्मानपत्र र पुरस्कार वितरण गर्नुभएको थियो । बाल दिवस कार्यक्रम वडा कार्यालयको सहयोगमा आयोजना गरिएको विद्यालयले जनाएको छ ।