भौतिकसंगै अभौतिक सम्पदालाई पर्यटकीय बजारमा जोड्दै फक्ताङलुङ,सभ्यता,संस्कार र संस्कृति प्राथमिकतामा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्राकृतिक तथा भौतिक सम्पत्तिसंगै अभौतिक प्रकृतिका सम्पदालाई समेत पर्यटकीय बजारमा लैजाने नीति अघि बढाएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पर्यटन वृहत्तर प्रकृतिको क्षेत्र भएको भन्दै भौतिक र अभौतिक दुबै सम्पदालाई पर्यटन बजारमा आवद्ध गराउने जानकारी दिनुभयो । पर्यटन क्षेत्रका अभौतिक सम्पदाको रुपमा पालिकाले ग्रामीण संस्कार,संस्कृति,जातीय तथा धार्मिक विविधता,रहनसहन र जीवन शैलीसहितका बिषयलाई औंल्याएको छ । हिमाल,पहाड,वनजंगल,वन्यजन्तु,हिमश्रिंखलासंगै कृषि उत्पादन तथा स्थानीय हस्तकलाका सामग्री र अभौतिक तर पर्यटकीय बजारमा लैजान सकिने सम्पदालाई एकसाथ पर्यटन बजारमा लगेर दिगो तथा रोजगारीमुखी स्थानीय आर्थिक विकास गर्ने पालिकाको तयारी रहेको छ । पर्यटकहरुलाई भ्रमण र अवलोकनसंगै स्थानीय संस्कार,संस्कृति,सभ्यता र रहनसहन तथा जीवनशैलीका बारेमा जानकारी गराई पर्यटकको बसाई लम्ब्याउन सकिने पालिकाको बुझाई रहेको छ ।
अभौतिक सम्पदालाई पर्यटकीय बजारमा लैजान पालिकाले रैथाने संस्कार र संस्कृतिको जर्गेना गर्ने छ भने मौलिक संस्कृतिको संरक्षणका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । भौतिक रुपमा देखिने पालिका क्षेत्रका महत्वपूर्ण सम्पदा तथा स्थलहरु कञ्चनजंघा हिमाल,कुम्भकर्ण फक्ताङलुङ,ओलाङचुङगोला,याङ्मा,टिपताला,सिङ्जेमा ताल,स्याम्दु पोखरी,छेर्चेन ताल,घुन्सा,खाम्बाछेन,लोनाक,पाङपेमा,सेलेले,पाथीभरा मुक्कुमलुङसहितका प्रमुख प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र प्रर्वद्धनमा पालिकाले जोड दिने भनेको छ । ग्रेट हिमालयन अन्तरगत रहेका रानीपुल–हेल्लोक–लप्सेटार–येसाङ–केङस्रा–तोरोङदेन–चाईराम–सेलेले–घुन्सा–नाङगोला पास–याङलोक–ओलाङचुङगोला–लुम्बा पास सहितका पदमार्गको स्तरोन्नती गर्ने पालिकाले योजना बनाएको छ ।
पालिकाले हिमाली क्षेत्रमा हुने उच्च हिमाली रोगको न्यूनीकरणका लागि पालिकाले प्रमुख पदमार्गहरुमा अक्सिजन सिलिण्डरसहित प्राथमिक उपचार तथा मेडिकल सहायता केन्द्र सञ्चालनमा ल्याईसकेको छ । स्थानीय साँस्कृतिक सम्पदाको संरक्षण तथा प्रर्वद्धनका लागि पालिकाले साँस्कृतिक महोत्सव संगै कला,भाषा,भेषभूषा,मौलिक संस्कृति र परम्परा जोगाउने र प्रर्वद्धन गर्ने कार्यक्रम अघि सारेको छ । यसका लागि नव युवा साँस्कृतिक प्रर्वतन कार्यक्रम सञ्चालन गर्ने र यस्तै अन्य निकायसंग सहकार्य र समन्वय गर्ने पालिकाले बताएको छ । पालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको सौन्दर्यकरणमा ध्यान दिदैं फोहोरमैलाको उचित व्यवस्थापन तथा सफाईका कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटनको विद्युतीय प्रर्वद्धन कार्यक्रमलाई बिशेष प्राथमिकता दिँदै पालिकाले ब्रोसिएर,नक्सा,वृतचित्र सहितका क्रियाकलाप अघि बढाउने बताएको छ ।