फक्ताङलुङमा राष्ट्रपति रनिङ शिल्डको अभ्यास शिक्षण सुरु,दातृ निकायलाई पालिकाका प्रतिनिधिसरहको मान्यता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको बिद्यालयगत अभ्यास सुरु गरेको छ । यसबर्षको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड लेलेपस्थित सरस्वती च्यारिवुक माविले गर्ने भएको छ ।
गाउँपालिका शिक्षा समितिको बैठकले पालिकाका सबै माध्यमिक बिद्यालयहरुले भदौ २५ गतेबाट नै राष्ट्रपति रनिङ शिल्डको बिद्यालयगत अभ्यास सुरु गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको पालिकाका सूचना अधिकारी तथा गाउँ शिक्षा समितिका सदस्य सचिव जयप्रसाद रिजालले जानकारी दिनुभयो । यसबर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाथीभरा याङवरक गाउँपालिकामा हुँदैछ । जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाम भन्दा बाहिर रहेका पालिकामा आयोजना गर्नेगरि थिति बसाउनु भएको छ । सोहिअनुरुप सिदिङ्वामा सम्पन्न १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापनका दिन यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको स्थानीय व्यवस्थापनको जिम्मेवारी पाथीभरा याङवरकले लिएको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड सिरिजङ्गाको तेल्लोकमा,१४ औं आठराई त्रिबेणी गाउँपालिकाको वडा नं २ स्थित महभीर खेलमैदानमा १५ औं मैवाखोला गाउँपालिकाको वडा नं ३ स्थित नारायणी माविको खेलमैदानमा र १६ औं सिदिङ्वा गाउँपालिका वडा नं ४ स्थित सिदिङ्वा रंगशालामा सम्पन्न भएका छन् ।
पालिकाले पालिका क्षेत्रमा रहेका शैक्षिक दातृ निकायका प्रतिनिधिलाई पालिकाको आधिकारिक शैक्षिक प्रतिनिधिको मान्यता दिएको छ । सोहि मान्यता अनुसार पालिकाका विभिन्न वडामा दातृ निकायले शैक्षिक गुणस्तर सुधारको परार्मश तथा तयार भएका शैक्षिक प्रवन्धको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी पाएका छन् । सार्मथ्य फाउण्डेसनका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पन्तका अनुसार ह्युमन प्राक्टिस फाउण्डेसनले पालिकाको वडा नं १ सावादिनमा रहेका शैक्षिक संस्था,एक्सन फर नेपालले वडा नं २ खेजेनिमका शैक्षिक संस्था,सार्मथ्य फाउण्डेसनले वडा नं ३ लिङखिम,वडा नं ४ इखाबु र वडा नं ५ तापेथोकका शैक्षिक संस्था र फेज नेपालले वडा नं ६ मा रहेका शैक्षिक संस्थामा शैक्षिक गुणस्तर सुधारको परार्मश तथा तयार भएका शैक्षिक प्रवन्धको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी पाएका छन् । पालिकाले त्यहाँ खटिने शैक्षिक दातृ निकायका प्रतिनिधिलाई पालिकाको शिक्षा शाखाका आधिकारिक व्यक्ति सरह मान्यता दिएको छ ।