प्रेस युनियन ताप्लेजुङको छैटौ जिल्ला अधिबेशन सुरु,नयाँ नेतृत्व चयन हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले लोकतन्त्र र प्रेस जगत एकअर्काबिचमा परिपूरक हुने बताउनु भएको छ । सुद्रिढ लोकतन्त्रमा मात्र सञ्चारकर्मीहरुले आफ्नो लेखनीय स्वतन्त्रता प्राप्त गर्न सक्ने समेत उहाँले बताउनु भएको छ ।

नेपाल प्रेस युनियन ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहनु भएका तुम्याहाङले शनिवार आयोजित कार्यक्रममा बर्तमान सरकारले सञ्चार संस्था तथा सञ्चारकर्मीहरुलाई सुरक्षित भविष्य प्रदान गर्न नसकेको समेत दावी गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले सञ्चारकर्मी र सञ्चार संस्थाहरुको बलियो एकताले लोकतन्त्रको सुरक्षित भविष्य निक्र्योल गर्ने बताउनुभयो । प्रजातान्त्रिक तथा लोकतान्त्रिक शक्तिहरु मिलेर मुलुकको लोकतन्त्र तथा देशको भबिष्य सुनिश्चित गर्नुपर्ने बताउँदै हाङगामले बर्तमान सरकार प्रेस जगतको सुरक्षित भविष्यप्रति चिन्तित नरहेको बताउनुभयो ।

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा केवलकार निर्माण प्रकृया किन रोकियो भनेर प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न राख्न ताप्लेजुङका पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । मादेनले पाथीभरा केवलकार निर्माणको ७० प्रतिशत कार्य पूरा भईसकेको र आधुनिक विकासका साधनलाई तीव्र गतिमा पूरा गर्नुपर्नेमा बर्तमान सरकारले दायित्व बिर्सिएको दावी गर्नुभयो । आधिकारिक पत्र बेगर स्थानीय प्रशासनलाई दबाबमा राखेर पाथीभरामा निर्माणाधिन केवलकार परियोजना रोकिएको भन्दै मादेनले रोष प्रकट गर्नु भएको छ । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले आफुहरु स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीको संरक्षण र प्रर्वद्धनमा विगत झैं निरन्तर लागि रहने बताउनुभयो । कार्कीले स्थानीय सञ्चार संस्थाहरुप्रति गर्ने सहयोगमा कुनै कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,प्रेस युनियनका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वा,प्रेस युनियन ताप्लेजुङका पूर्व अध्यक्ष धर्मप्रसाद पौडेल सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो । प्रेस युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुर्कुटीको अध्यक्षतामा भएको उद्घाटन सत्रपछि हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

 

Similar Posts