फक्ताङलुङद्धारा शैक्षिक सुधारको समिक्षा र आगामी रणनीतिबारे दातृ निकायसंग छलफल
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । शैक्षिक सुधारको समिक्षा,प्रभावकारी कार्यान्वयन र भावी योजनाको बारेमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले स्थानीय सरकार तथा साझेदार दातृ निकायबिच छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
पालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाको शैक्षिक क्षेत्रलाई थप व्यवस्थित,गुणस्तरीय र परिमाणमुदखी बनाउने ध्येयका साथ छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफल कार्यक्रममा शैक्षिक सुधार प्रयास अभियानको समिक्षा,शैक्षिक सुधार योजनाको कार्यान्वयनको अवस्था र आगामी दिनमा अपनाउने रणनीतिका बिषय केन्द्रित भएको पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार छलफलका क्रममा विगतमा सञ्चालित शैक्षिक कार्यक्रमहरूको उपलब्धि र प्रभावको समीक्षा गर्दै हाल कार्यान्वयनमा रहेका कार्यक्रमहरूको प्रभावकारिता,विद्यमान चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूबारे विमर्श गरिएको छ । प्राप्त अनुभव र स्थानीय आवश्यकताका आधारमा भावी शैक्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने विषयमा समेत साझा समझदारी निर्माण भएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
फक्ताङलुङ गाउँपालिकाको भौगोलिक विकटता र विविधतालाई ध्यानमा राख्दै प्रत्येक बालबालिकालाई गुणस्तरीय,समावेशी र सहज शिक्षा उपलब्ध गराउने कार्यमा छलफल एक प्रभावकारी कदम भएको पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ । स्थानीय सरकार,विद्यालय,शिक्षक,अभिभावक,समुदाय र साझेदार संस्थाहरूबिचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाई शैक्षिक नतिजा तथा गुणस्तरमा उन्नत परिणाम प्राप्त गर्ने योजना पालिकाले बनाएको छ । फक्ताङलुङमा सार्मथ्य फाउण्डेसन,फेज नेपाल,हिमालययन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया,एक्सन फर नेपाल सहितका निकायले पालिकासंग दातृ साझेदार निकायको रुपमा सहकार्य गर्दै आएका छन् । सार्मथ्य फाउण्डेसन भन्दा अगाडि ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपाल र शैक्षिक पूर्वाधारसहितका कार्यमा ह्युमन प्राक्टिस फाउण्डेसनले समेत पालिकासंग सहकार्य गरेका थिए ।