तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरको बनाईयो,भारतसहितका धावक सहभागी हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १५ । भदौ २५ गते हुने तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरको बनाईएको छ ।
भारतसहितका धावक प्रतियोगितामा सहभागी हुने र नेपालका समेत अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका धावकको सहभागिता सुनिश्चित देखेपछि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितालाई अन्तराष्ट्रिय ट्रेल रन प्रतियोगिताको रुपमा रुपान्तरण गरिएको बुधवार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा आयोजक तिम्बुङ पोखरी पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता मुख्य कार्यक्रम भएपनि यसपटक सबैभन्दा बढी उचाईमा केलाङ नृत्य प्रर्दशन गर्ने कार्यक्रम राखिएको छ । समुद्र सतहबाट ४ हजार २ सय मिटर उचाईमा आयोजना हुने केलाङ नृत्य अहिलेसम्म यो उचाईमा नभएको राईको दावी छ । प्रतियोगितासंगै याक तथा चौंरी प्रर्दशनी,भेडा प्रर्दशनी,स्थानीय उत्पादनको प्रर्दशनी,तिम्बुङ पोखरी क्षेत्र आसपासको भ्रमण र भारततर्फ रहेका लक्ष्मी पोखरीसहितको अवलोकन भ्रमणको कार्यक्रम राखिएको राईले जानकारी दिनुभयो ।
राईका अनुसार तिम्बुङ पोखरी क्षेत्रलाई केञ्जो अर्थात् पदमचालको राजधानी घोषणा गर्ने ध्येयका साथ भदौ २४ गते सिदिङ्वा गाउँपालिकाको कार्यपालिकाको कार्यपालिका बैठक समेत तिम्बुङ पोखरीमा बस्दै छ । यसपटक प्रतियोगितामा सहभागिताका लागि अर्जुन कुलुङ,धिरज बुढा मगर सहितका प्रख्यात धावकहरुले समेत सहभागिताका लागि सम्पर्क गरिसकेका छन् । धावकको २ लाख रुपैयाँको दुर्घटना बीमा र प्रतियोगिताको अघिल्लो दिनबाट दुईदिनसम्म खानबस्न समेत आयोजकबाटै प्रवन्ध भएकोले आयोजकले यसपटक प्रति धावक दर्ता शुल्क १ हजार रुपैयाँ निर्धारण गरेको समेत राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न आयोजकले १९ लाख २६ हजार १ सय ५० रुपैयाँको कुल लागत अनुमान गरेको छ । यसमध्ये सिदिङ्वा गाउँपालिकाले १३ लाख र पर्यटन कार्यालय काकडभिट्टाले ४ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको आयोजक समितिले जनाएको छ । यसपटक प्रतियोगिताको पुरस्कार राशीमा साविक भन्दा बृद्धि गरिएको छ । खुल्ला र महिलातर्फका बिजेताले पाउने पुरस्कार राशीलाई समान बनाईएको छ ।
राईका अनुसार खुल्लातर्फका बिजेताले ८३ हजार ५२५ रुपैयाँ,उपबिजेताले ६३ हजार ५२५ रुपैयाँ र तृतीय हुनेले ४३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । महिलातर्फ भने बिजेता र उपबिजेताका लागि मात्र पुरस्कार रकम राखिएको राईले जानकारी दिनुभयो । महिलातर्फ प्रतिश्पर्धीको संख्या कम हुने भएकोले प्रथम र द्धितीय पुरस्कार मात्र राखिएको राईले बताउनुभयो । खुल्ला र महिलातर्फ समान दूरीको दौड हुने छ । महिलातर्फका बिजेताले खुल्लातर्फ बराबर बिजेताले ८३ हजार ५२५ रुपैयाँ र उपबिजेताले ६३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । सिदिङ्वा गाउँपालिकाका बासिन्दामात्र दौडमा सहभागी हुन पाउने स्थानीय ट्रेल रन प्रतियोगिताका लागि भने प्रथमले मात्र पुरस्कार पाउने भएका छन् । आयोजक संस्थाका अध्यक्ष राईका अनुसार स्थानीय ट्रेल रन प्रतियोगिताका बिजेताले ३३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।
दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताका बिजेताले ५० हजार,उपबिजेताले ३५ हजार तृतीय हुनेले २० हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएका थिए । उतिबेला महिलातर्फ भने प्रथम हुनेलाई मात्र पुरस्कार दिईएको थियो । महिलातर्फका बिजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । स्थानीयतर्फ (सिदिङ्वा गाउँपालिका भित्रका)प्रथम हुनेलाई नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र दिईएको थियो । समुद्र सतहबाट ४ हजार ३ सय ४० मिटर उचाईको तिम्बुङ पोखरी क्षेत्रबाट हुने ट्रेल रन प्रतियोगिता ३ हजार ८ सय मिटर उचाईको पाङदुवामा झरी फेरि ४ हजार २ सय मिटर उचाईको ठूलो भञ्ज्याङमा आएपछि दौड दूरी पूरा हुने छ । पोखरी क्षेत्रबाट पाङदुवामा झरी फेरि ठूलो भञ्ज्याङ उक्लदा दौडको दूरी करिव १५ किलोमिटर हुने छ । कूल २१ किलोमिटर दूरीमा ट्रेल रन प्रतियोगिता हुने छ । दोस्रो तिम्बुङ पोखरी ट्रेल रनको दूरी पनि यति नै थियो । प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा भने ट्रेल रन दूरी ७.८ किमी रहेको थियो ।
पदमचाल अर्थात् केञ्जोको ‘हव’तिम्बुङ पोखरी क्षेत्रको प्रर्वद्धनका लागि ट्रेल रन प्रतियोगितालाई यसबर्ष पनि निरन्तरता दिईएको आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । प्रथम र दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भने भदौ २६ गते भएको थियो । तिम्बुङ पोखरी पदमचाल अर्थात् केञ्जोको राजधानी मानिएको र भदौ महिनामै केञ्जोको आर्कषणमा बढी हुने भएकोले उक्त समयमै तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना गरिएको राईले बताउनुभयो ।
राईका अनुसार यसबर्षपनि तिम्बुङ पोखरी सहितका पर्यटकीय क्षेत्रको प्रचार र प्रर्वद्धनमा योगदान पु¥याउने एक पत्रकारलाई नगद ३० हजार रुपैयाँ सहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने छ । भदौ महिनामा चलेको जेन जी आन्दोलनसहितका कारणबाट अघिल्लो बर्ष घोषणा गरेर पनि पत्रकारिता पुरस्कार बितरण गरिएको थियो । अघिल्लो बर्ष पत्रकार महासंघ ताप्लेजुङका पूर्व सभापति किशोरकुमार राईले पुरस्कार पाउने गरी घोषणा गरिएको थियो । अघिल्लो बर्ष पुरस्कारका लागि घोषणा गरिएका राई र यसबर्ष पुरस्कृत हुने एकजनालाई जनही नगद ३०–३० हजार रुपैयाँका दरले पुरस्कार बितरण गरिने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । यो पुरस्कार ताप्लेजुङ र पाँचथरका पत्रकार केन्द्रित हुने समेत उहाँले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिका प्रतियोगिताको मुख्य प्रर्वद्धक रहेको छ ।