नेकपा केन्द्रीय सदस्य शेर्पाद्धारा पार्टी परित्याग,राश्वपामा आबद्ध हुने संकेत

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ५ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिङ्मा डण्डु शेर्पाले पार्टी परित्याग गर्नु भएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने संकेत देखिएको छ ।

राश्वपाका नेता तथा कार्यकर्ताले उहाँलाई आफ्नो पार्टीमा ‘स्वागत’भनेका छन् । नेकपा केन्द्रीय सदस्यबाट लिखित रुपमै राजीनामा दिनु भएका उहाँ आफैंले भने राजीनामा पत्रमा अबको राजनीतिक यात्रा बारे केहि बताउनु भएको छैन । तर,काठमाडौंमा राश्वपाले आयोजना गरेको कार्यक्रमले उहाँ आफैंले मन्तव्य राख्नु भएको थियो । ताप्लेजुङको फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य समेत रहनु भएका उहाँले राजीनामा पत्रमा नेपालको बामपन्थी आन्दोलनसंग जोडिएको २६ बर्ष यताको सहयात्रा टुङ्ग्याएको बताउनु भएको छ । उहाँले पार्टीको साधारण सदस्य र अहिलेसम्मका सबै विभागीय जिम्मेवारी समेत त्यागेको राजीनामा पत्रमा लेख्नु भएको थियो । योङ कम्युनिष्ट लिग वाइसिएलको केन्द्रीय उपाध्यक्ष समेत रहिसक्नु भएका शेर्पाले जिल्ला,प्रदेश र केन्द्रीय तहमा कोषाध्यक्ष,सचिव र अन्तराष्ट्रिय विभाग प्रमुख समेतको जिम्मेवारी समेत सम्हालिई सक्नु भएको छ । उहाँ नेपाल क्रिकेट संघ क्यानको कोशी प्रदेश समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

सुरुमा एमाले र त्यसपछि तत्कालिन नेकपा(माओवादी)केन्द्रमा रहनु भएका उहाँले नेकपा परित्याग गर्ने आफ्नो निर्णय कुनै क्षणिक भावनाको उपज नभएको र अवसर नपाएको कुण्ठाबाट उत्पन्न भएको निर्णय नभएको बताउनु भएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखका लागि तत्कालिन माओवादी केन्द्रले उहाँको नाम अघि सारेको थियो । मनोनयन गर्नै लाग्दा उक्त पार्टीबाट फुङलिङ नगर कार्यपालिका सदस्य गंगाराम शंकरले उम्मेदवारी दर्ता गरेपछि शेर्पाले उक्त पार्टीबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिन पाउनु भएन । पछि पार्टीले शंकरको उम्मेदवारी खारेज गरिदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएको थियो ।

तत्कालिन निर्वाचनमा गठबन्धनमा रहेका नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र) र नेकपा एसबाट शेर्पा समन्वय प्रमुख र नेकपा एसबाट छिरिङ लामा उपप्रमुख हुनेगरी समझदारी थियो । शंकरको उम्मेदवारी खारेजी र शेर्पाको उम्मेदवारी दर्ता नभएपछि उपप्रमुखमा सहमति गरिएका छिरिङलाई गठबन्धनले प्रमुखको उम्मेदवारी बनाएको थियो भने उपप्रमुखमा काँग्रेसकाकृष्णप्रसाद लिङखिमले उम्मेदवारी दिनुभयो । नेकपा एसको कोशी प्रदेश समिति उपसचिव समेत रहनु भएका समन्वय प्रमुख लामा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एससहितको एकता घोषणा पछि अहिले नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

 

Similar Posts