झण्डै ८ करोडको लगानीमा माथिल्लो तमोर जलविद्युत आयोजनाद्धारा मोटरेवल बेलिब्रिज निर्माण,बन्यो दोस्रो पुल
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ र ६ जोड्ने मोटरेवल बेलिब्रिजको शनिवार उद्घाटन गरिएको छ ।
देश प्राकृतिक विपद्मा परेर पींडा भोगिरहेको भन्दै पुल उद्घाटनलाई तामझाम बेगर औपचारिकतामा मात्र सिमित गरिएको हो । उद्घाटन अघि रसुवा बाढीमा परी दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा शोक सहनका लागि प्रार्थना समेत गरिएको थियो । २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाको मुख्य प्रर्वद्धक तमोर इनर्जी प्रालिले निर्माण गरेको मोटरेबल बेलिब्रिज ५४.८ मिटर लम्बाई र ४.५ मिटर चौडाईको रहेको छ । बेलिब्रिजले फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपलाई जोड्ने छ । पुल तापेथोक बगर र लेलेप बगरकोबिच तमोर नदीमाथि बनेको हो ।
फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति),उपाध्यक्ष रवीन साम्रा(विकास),माथिल्लो तमोर जलविद्युत आयोजनाका आयोजना संयोजक सम्झना क्षेत्री, फक्ताङलुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष देउप्रसाद लिम्बू,स्थानीय बिहानी उपभोक्ता समितिका पदाधिकारीसहितको उपस्थितिमा शनिवार मोटरेवल बेलिब्रिजको उद्घाटन गरिएको हो । आयोजना संयोजक क्षेत्रीका अनुसार पुलको कुल लागत ७ करोड ८५ लाख १९ हजार १ सय ७६ रुपैयाँ रहेको छ । पुल सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बनेको हो ।
यसअघि अघिल्लो बर्ष माथिल्लो तमोर जलविद्युत आयोजनाले फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्ने खोलामा झण्डै ४ करोड रुपैयाँको लगानीमा मोटरेवल बेलिब्रिजको निर्माण गरी सञ्चालनमा आइरहेको छ । आयोजनाले सिस्ने खोला माथि ३ करोड ८५ लाख ४० हजार १ सय ८९ रुपैयाँको लगानीमा २७.३ मिटर लम्बाई र ४.५ मिटर चौडाईको मोटरेबल बेलिब्रिज निर्माण गरेको थियो ।