प्रहरी समायोजनको बाटो खुल्यो
काठमाडौँ, असोज १३। उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।
मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसारउपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्र्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।
अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’
नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ ।
यसैबीच काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’ को नाम ‘सङ्घीय राजधानी प्रहरी’ मा परिवर्तन भएको छ ।
नेपाल प्रहरी र सङ्घीय प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय)सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँंगै ‘सङ्घीय राजधानी प्रहरी’ प्रहरी प्रधान कार्यालय (केन्द्र) मातहतमा रहने व्यवस्था गरिएको छ । अध्यादेशपछि नेपाल प्रहरीलाई प्रदेश समायोजन प्रक्रियाका लागि बाटो खुलेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिनुुभयो ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन २०६२ सालमा महानगरीय प्रहरी सेवा गठन गरिएको थियो । योअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, ट्राफिक महाशाखा, अपराध महाशाखा तथा तीन जिल्लामा तीनवटा परिसर लगायतका कार्यालय रहेका थिए । यसअघि महानगरीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरी अन्तर्गत रहने गरी व्यवस्था गरिएको थियो । ‘सङ्घीय राजधानी प्रहरी’ को नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले नेतृत्व गर्नुहुने छ ।