खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडद्धारा स्थापना दिवसमा खाद्य तथा शैक्षिक सामग्री प्रदान
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २८ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले बिहीबार आफ्नो ७ औं स्थापना दिवसको अवसरमा फुङलिङस्थित बाल मन्दिर आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक तथा खाद्यान्न सामग्री बितरण गरेको छ ।
७ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत शारीरिक रुपमा अक्षम तथा सुस्त श्रवण बालबालिका समेत अध्ययन गर्ने उक्त बिद्यालयका बिद्यार्थीलाई शैक्षिक तथा खाद्य सामग्री बितरण गरिएको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । सुरुमा नेपाल खाद्य संस्थापनको रुपमा रहेकोमा अहिले खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडमा रुपान्तरण भएको ७ बर्ष पूरा भएको अवसरमा स्थापना दिवस मनाईएको हो ।
शैक्षिक तथा खाद्य सामग्री बितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि तथा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले शारीरिक अक्षमता भोगिरहेका बालबालिका अध्ययन केन्द्र शैक्षिक संस्थामा सहयोग गरेर खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले गरेको योगदानप्रति सह्राना व्यक्त गर्नुभयो । नगरपालिकाकोतर्फबाट पनि आफुहरुले बिद्यालयलाई सहयोग गर्दै आएको बताउँदै ओझाले बिद्यालय र बिद्यार्थीको अधिकतम् आवश्यकताको सम्बोधनका लागि आफुले सक्दो पैरवी गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण पौडेल,प्रधानाध्यापक धर्मप्रसाद पौडेल,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीसहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।