नेपाल व्यपार रणनीतिक योजनाको मस्यौदामा ३२ निर्यात बस्तुको पहिचान,साढे ४ खर्ब बढी लागत अनुमान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । नेपाल व्यपार रणनीतिक योजनाको मस्यौदामा कृषिजन्य उत्पादनमा अलैंची,अदुवा,जुट र चिया सहित ३२ वटा नयाँ व्यवसायिक निर्यात बस्तुको पहिचान गरिएको छ ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ताप्लेजुङमा सोमवार सरोकारवालाहरुका बीच मस्यौदामा ३२ वटा उच्च निर्यात हुने सम्भावित उत्पादनको पहिचान गरिएको जनाएको छ । मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले कृषिजन्य,वन्य सम्पदा,जडिबुटीजन्य सहितका अन्तराष्ट्रिय बजारमा निर्यात हुन सक्ने ३२ वस्तुको पहिचान भएको गरिएको बताउनुभयो । मस्यौदामा थप हुन सक्ने बिषय र तयार पारिएको रणनीतिक योजनामा कृषि,बजार क्षेत्र र आयात तथा निर्यातकर्ताहरु समेतको सुझाव ग्रहणका लागि मन्त्रालयको टोली जिल्लागत दौडाहामा निस्किएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

मस्यौदामा निर्यातका सम्भावित क्षेत्र समेत पहिचान गरिएको छ । जस अन्तरगत पर्यटन,सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा,जलबिद्युत,निर्माण सेवा र दक्ष तथा अर्धदक्ष श्रम सेवा सहितका सम्भाव्य क्षेत्र रहेका छन् । मन्त्रालयका सहसचिव अधिकारीका अनुसार वस्तु विकास तथा व्यपारका लागि उत्तम पारिस्थितिकीय प्रणालीको विकास,प्रतिश्पर्धात्मक क्षमताको सुधार र आर्थिक संकट झेल्न सक्नेगरी बजारको विविधकरणका लागि वाणिज्य नीति(मस्यौदा) र व्यपार तथा वाणिज्य सम्वद्ध नीति तयार पारिएको हो । यस्तो रणनीतिक योजनामा १ सय ८३ वटा क्रियाकलाप तयार पारिएको समेत अधिकारीले बताउनुभयो ।

योजना कार्यान्वयनका लागि ४ खर्ब ६३ अर्व २५ करोड ७ लाख २० हजार रुपैयाँ खर्च हुने समेत मन्त्रालयले बताएको छ । वस्तु तथा सेवाको कूल ग्राहस्थ उत्पादनको आधार बर्ष २०७९।८० मा कायम रहेको ६.३ प्रतिशतबाट आव २०८४।८५ मा २० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

रणनीतिक योजनामा संघीय संरचना अनुसार उत्पादन तथा व्यपार प्रकृयामा तीनै तहका सरकारको संलग्नता र सहभागिता वृद्धि गर्ने,अन्तराष्ट्रिय तहमा देखिने आर्थिक असहजताले उद्योग तथा व्यपार क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गरी यस क्षेत्रको विकास र बिस्तार गर्ने,कम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नती हुँदा चुनौतिको न्यूनीकरणका गर्न अपनाउनुपर्ने पक्ष र सवाललाई समेत आत्साथ गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आर्थिक विकासका समस्याका कारणले वैदेशिक हस्तक्षेप समेत बढ्ने अनुभव सुनाउनुभयो । व्यपारबाट आत्मनिर्भर भइरहेको समाजलाई कसरी औद्योगिकरणमा रुपान्तरण गर्ने भन्ने बिषयमा रणनीतिक योजनामा सवालहरु महत्वपूर्ण रहेको उहाँको भनाई थियो । निर्यात सम्वन्धी नीति ठीक नहुँदा अलैंची सहितका उत्पादनको निर्यातमा समस्या आइरहेकोले नेपाल व्यपार रणनीतिक योजनाले यस्ता बिषय समेत समेट्ने उहाँको विश्वास थियो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ संगको सहकार्यमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य,दुर्गादल गुल्मका गुल्मपति मदन घिमिरे,जिल्ला प्रहरी प्रमुख रवि रावल,सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवाल,प्रमुख अनुसन्धान अधिकृत सञ्जय मण्डल सहित ताप्लेजुङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न व्यवसायजन्य संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts