आठराई त्रिबेणीद्धारा पालिकाका १०८ परिवार भूमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासीलाई निस्सा बितरण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाले पालिका क्षेत्रका १ सय घर ८ परिवार भूमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासीलाई निस्सा बितरण गरेको छ ।
१ सय २० जनाले फारम भरेकोमा १२ घर परिवारको प्राविधिक कारणले निस्सा प्राप्त नभएकोले निस्सा प्राप्त भएका १ सय ८ घर परिवारलाई सामूहिक रुपमा निस्सा बितरण गरिएको आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १ निघुरादिनमा ११ भूमिहिन सुकुम्बासी तथा १ अव्यवस्थित बसोबासी,वडा नं २ फुलवारीका २६ भूमिहिन सुकुम्बासी तथा ५ अव्यवस्थित बसोबासी र वडा नं ३ हाङपाङमा ४ भूमिहिन सुकुम्बासी र ३९ अव्यवस्थित बसोबासीलाई निस्सा बितरण गरिएको छ । पालिकाले वडा नं ४ चाँगेका ३ भूमिहिन सुकुम्बासी तथा ६ अव्यवस्थित बसोबासी र वडा नं ५ चाँगेका १३ भूमिहिन सुकुम्बासीलाई निस्सा बितरण गरिएको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
फारम भरेका तर निस्सा प्राप्त नभएका सेवाग्राहीलाई पालिकाको अमिन शाखामा सम्पर्क राखी आवश्यक कागजात उपलब्ध गराई थप प्रकृया अघि बढाउने कार्यमा सहयोग गर्न गाउँपालिकाका अध्यक्ष पोमूले आग्रह समेत गर्नु भएको छ । अब पालिकाले केहिदिनमै पालिकाका प्रत्येक वडाबाट दावी बिरोधको ७ दिने सूचना जारी गरी तत् पश्चात वडाबाट प्रमाणित भई पालिकाका प्राप्त हुनेगरी कागजातका आधारमा कार्यपालिकाले आगामी प्रकृयाका लागि निर्णय गरी सिफारिस सहित भूमि समस्या समाधान समिति समक्ष पठाउने छ । अहिले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्ष रहेको भूमि समस्या समाधान समिति रहेको छ । स्थानीय सरकारले सम्पादन गर्नुपर्ने सबै काम पूरा गरी थप प्रकृयाको मार्ग प्रसस्त गर्ने कुरामा पालिकाले शीघ्र कार्य सम्पादन गर्ने र भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेतर्फ अग्रसर हुने पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।