जिससको‘क्षेत्राधिकार बृद्धि वा यथास्थितिमै’भन्ने बिषयमा पुर्नविचार गर्ने बेला आयो : हाङगाम
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । कोशी सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले जिल्ला समन्वय समितिको ‘क्षेत्राधिकार बृद्धि वा यथास्थितिमै’भन्ने बारेमा पुर्नविचार गर्न जरुरी रहेको बताउनु भएको छ । जिससको क्षेत्राधिकार बृद्धि गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउनु अनिवार्य रहेको उहाँको भनाई थियो ।
ताप्लेजुङ जिल्लामा रहेका संघ तथा प्रदेशका कार्यालय तथा राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाहरुको बिहीबारबाट सुरु बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै हाङगामले संविधानले तीनै तहका सरकारले मिलेर कार्य गर्नुपर्ने व्यवस्था गरेको बताउँदै अझैपनि तीन तहका सरकारबिच समन्वय र सहकार्यको अभाव रहेको बताउनुभयो । जिससको क्षेत्राधिकारबारे संविधानको मौजुदा व्यवस्था परिवर्तन गरी क्षेत्राधिकार बृद्धि गर्न र संघीयतालाई थप मजवुत बनाउन जरुरी रहेको उहाँको भनाई थियो । समन्वय,सहकार्य र अनुगमनसहितका दायित्व जिससको रहेको स्मरण गर्दै हाङगामले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले जिससलाई दिएको क्षेत्राधिकारका कतिपय प्रावधानलाई सापेक्ष संशोधन गनुपर्ने समेत बताउनुभयो । जिसस सम्वन्धित जिल्लाको स्थानीय सरकारको अभिभावकको रुपमा रहने गरी दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउनुपर्नेमा हाङगामको जोड थियो ।
तीन तहका सरकार आ–आफ्नै तालमा कुद्ने पद्धतिले समन्वय र सहकार्यको सिद्धान्त नै फेल खाने समेत हाङगामले बताउनुभयो । एक अर्को प्रसंगमा हाङगामले पुराना राजनीतिक दलबाटै नवप्रर्वद्धनकारी दलहरुमा गएकाहरुले पनि ‘हामी नयाँ हौं’भन्नु भद्या मजाक हुने टिप्पणी गर्नुभयो । बार्षिक समिक्षा कार्यक्रममा बोल्दै जिसस प्रमुख छिरिङ लामाले जिससलाई संविधानले समन्वय,सहकार्य,प्रशिक्षण र अनुगमनको दायित्व सुम्पेको बताउँदै नीगित अस्पष्टता र व्यवहारिक समस्याका कारण प्राप्त दायित्वको प्रभावकारी कार्यान्वयनमा समस्या खेप्नु परिरहेको बताउनुभयो । लामाले जिससको क्षेत्राधिकारलाई थप फराकिलो बनाएर संबिधानले दिएका जिम्मेवारी र दायित्वलाई प्रभावकारी रुपले कार्यान्वयनमा लैजान सकिने मत राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बार्षिक समिक्षा विगतका कार्यप्रगति र कार्य सञ्चालनको क्रममा देखिएका समस्याको विश्लेषण गरी सुधारका उपाय अवलम्बन गर्ने स्थल भएको बताउँदै प्रभावकारी समिक्षाले आगामी दिनमा कार्य सञ्चालन प्रणालीमा रचनात्मक सुधार ल्याउन सकिने समेत जानकारी दिनुभयो । कार्यक्रममा जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिमले बार्षिक समिक्षा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,जिल्लास्थित सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको छ । निमित्त जिल्ला समन्वय अधिकारी कुलप्रसाद भट्टराईका अनुसार बिहीबार जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाको र शुक्रवार स्थानीय तहको आर्थिक बर्ष २०८२।८३ को कार्य प्रगतिको समिक्षा हुनेगरि कार्यतालिका तय भएको छ ।