हर्कजंग मादेन स्मृति प्रतिष्ठान गठन,२० लाख रुपैयाँको अक्षयकोष स्थापना
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । शैक्षिक तथा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले ताप्लेजुङमा हर्कजंग मादेन स्मृति प्रतिष्ठान गठन भएको छ । स्थापनाकै दिन प्रतिष्ठानले २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी अर्कोबर्ष देखि फुङलिङस्थित भानुजन माविका कक्षा ११ मा सर्बोत्कृष्ट अंक ल्याउने १ जनालाई थप पढाईमा समेत टेवा पुग्नेगरी पुरस्कृत गर्ने निर्णय पनि लिएको छ ।
साहित्य सजर्क चन्द्र मादेन‘आन्छन्’अध्यक्ष रहेको प्रतिष्ठानको उपाध्यक्षमा शिव मादेन,सचिवमा प्रकाश मादेन,सहसचिवमा कुलदीप मादेन तथा कोषाध्यक्षमा छत्र मादेन रहनु भएको छ । प्रतिष्ठानका सदस्यहरुमा इन्दिरा मादेन,शिव मादेन,धनमाया मादेन,जीवन मादेन,प्रदीप मादेन,सागर मादेन र अनुपजंग मादेन रहनु भएको छ । प्रतिष्ठानका संरक्षकहरुमा डिल्लीजंग मादेन,कैलाश मादेन र सन्तोष मादेन तथा सल्लाहकारहरुमा विक्रम मादेन,अमिर मादेन र कीर्तिमान मादेन रहनु भएको छ ।
प्रतिष्ठानले अहिलेसम्म हर्कजंग परिवारमार्फत जम्मा भएको २० लाख रुपैयाँ चल अचल सम्पत्तिलाई अक्षयकोषमा रुपान्तरण गरी तीनजनाको सामुहिक मुद्दती खातामार्फत सञ्चालन हुने निर्णय समेत गरेको छ । कक्षा ११ मा सर्बोत्कृष्ट अंक ल्याउने १ बिद्यार्थीलाई पुरस्कृत गरी बाँकी रहेको अक्षयकोषको ब्याजवापतको रकमबाट स्वर्गीय हर्कजंगद्धारा निर्मित पार्टी,पौवा,धारा,कुटी,मन्दिर सहितका सामाजिक सम्पदाको संरक्षण र रेखदेखमा खर्च गर्ने प्रतिष्ठानको योजना रहेको अध्यक्ष मादेनले बताउनुभयो । अक्षयकोषमा जोडिएर आफ्ना पितापुर्खाको सामाजिक भावनाको जर्गेनामा सर्मपित हुन प्रतिष्ठानले पारिवारिक सदस्यहरुलाई आग्रह समेत गरेको छ ।
स्वर्गीय हर्कजंगलाई कुशल प्रशासक,ताप्लेजुङ जिल्लामा जन्मिएकाहरुमध्ये प्रथम न्यायाधीस,सामाजिक,धार्मिक तथा शैक्षिक जागरणका अभियान्ता समेतको उपाधिद्धारा नागरिकले स्मरण गर्ने गरेका छन् । हर्कजंगको जन्म बिक्रम् सम्वत् १९५२ साल भदौ ३ गते भएको थियो । प्रशासन र न्यायालय दुबैको जिम्मेवारी निर्वाह गर्नुपर्ने ‘लप्टन’ पद समेत सम्हाल्नु भएका हर्कजंगको २०२६ साल भदौ १३ गते निधन भएको थियो । हर्कजंगकै अगुवाई र परिकल्पनामा बिक्रम् सम्वत २००६ सालमा फुङलिङस्थित भानुजन माविको स्थापना भएको मानिन्छ ।
प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नु भएका मादेन सभ्यता,संस्कृति र समुदायलाई जोड्ने सेतुको रुपमा समेत परिचित हुनुहुन्छ । समाजमा जातजाति र धर्म संस्कारबिचको विविधता भित्र एकता कायम हुनुपर्ने पक्षमा रहनुहुने हर्कजंग जातजाति र धर्म संस्कारलाई मिलाएर राखी समाजमा शान्ति र अमनचयन गराउने योद्धाको रुपमा परिचित हुनुहुन्थ्यो । स्वर्गीय हकंजंगले आफ्नै पहल र अगुवाईमा धारा,कुटी,पार्टी पौवा,मठ मन्दिर र बाटोघाटो निर्माण समेत गर्नु भएको विभिन्न अभिलेखहरुबाट देखिन्छ ।