१२८ मेगावाट क्षमताको तमोर तमोर–मेवा जलविद्युत आयोजनाको भूमिगत उत्खनन् कार्य सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । ताप्लेजुङस्थित तमोर नदीको पानी उपयोग गरेर बनाइने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ ।
आयोजनाका लागि आवश्यक पर्ने करिव ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माणका लागि पहिलोपटक ब्लाष्टिङ गरिएको छ ।‘सुरुङ निर्माणका लागि आवश्यक पर्ने ब्लाष्टिङसहितका कार्य अब नियमित भइरहने आयोजनाको प्रर्वद्धक स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक भानेन्द्रकुमार लिम्बूले बताउनुभयो । आयोजनाले अहिलेसम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको बताएको छ । अन्य कुनै कुराले आयोजनाको निर्माणमा अवरोध नपुगे २०८५ साल असोज २५ भित्रमा जलविद्युत उत्पादन हुनेगरी कामको गतिलाई तीव्रता दिईएको लिम्बूले जानकारी दिनुभयो । आयोजनाको स्विचयार्ड र पावर हाउस बाहिर हुने छ भने अरु सबै संरचना भूमिगत(अण्डर ग्राउण्ड)हुने लिम्बूले जानकारी दिनुभयो । पावर हाउस,इन्टेक लगायतका संरचनाका आधारभूत पूर्वाधार,मुख्य कार्यालय,कर्मचारी आवास भवन,कामदार आवास भवन सहितका संरचना पूरा भएको र आयोजनास्थलमा पुग्ने मुख्य सडक समेत ग्राभेल तहको पूरा भईसकेको उहाँले जानकारी दिनुभयो ।
आयोजनाको कुल लागत २३ अर्ब हुनेछ । त्यसमध्ये बैंक तथा बित्तीय संस्थाको ऋण लगानी ७५ प्रतिशत बाँकी २५ प्रतिशत स्वपूँजी(ईक्विटी) हुने छ । अहिलेसम्म भएका सबै संरचनाको काम स्वपूँजीबाट गरिदैं आएको समेत उनले जानकारी दिए । अन्य जलविद्युत आयोजना भन्दा यो आयोजना सस्तो दरमा हुने बताउँदै लिम्बूले आयोजनाबाट उत्पादन हुने विद्युतको प्रति मेगावाट लागत १८ करोड भन्दा कम हुने जानकारी दिनुभो । आयोजनाका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइ र माछापुच्छ्रे बैंकसँगको समन्वयमा विभिन्न बैंकहरुले लगानी गर्नेगरी सम्झौता भईसकेको छ । सिद्धार्थ बैंक र माछापुच्छ्रे बाहेक कृषि विकास बैंक लिमिटेड,नेपाल एसबीआई बैंक लिमिटेड,ज्योति विकास बैंक लिमिटेड, आईसिएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगानी साझेदार बैंकको रुपमा रहने भएका छन् ।
आयोजना निर्माणका लागि २०८१ साल जेठ १० गते शिलान्यास भई कार्य प्रारम्भ भएको हो । स्पार्कले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको हो । २०८० साल असोज २४ गते स्पार्कले नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता(पिपीए)गरेको थियो । आयोजनाबाट उत्पादन भएको विद्युत मैवाखोलाको ढुङगेसाँघुस्थित विद्युत सवस्टेशनमा गरी राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ । विद्युत प्रसारण लाइनका लागि आईईईको कार्य भइरहेको छ । केन्द्रीय विद्युत प्रसारण लाइनमा समाहित गर्ने प्रकृयामा भूमिगत तारबाट प्रसारण लाइनसम्म पु¥याउने बारे प्राविधिक अध्ययन भइरहेको लिम्बूले जानकारी दिनुभयो ।