निमा छ्योखोर्लिङ बौद्ध गुम्बा पुर्ननिर्माणको कार्य तीव्र,शनिवार एकैदिन करिव २ सय बढीले गरे श्रमदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १६ । ‘तँ आँट,म पु-याउँछु’भन्ने वाणीलाई सत्य सावित गर्दै ताप्लेजुङको फुङलिङ–६ स्थित निमा छ्योखोर्लिङ बौद्ध गुम्बा पुर्ननिर्माणको कार्यले अपेक्षाकृत गति लिएको छ । व्यवस्थापन समितिको खाता रित्तो हुँदा सुरु भएको पुर्ननिर्माण कार्यमा अहिले दाताहरुको सहयोग समेत बढ्दै गएको छ भने श्रमदाताहरु समेत सहयोगका लागि उत्तिकै स्फुर्त खटिनु भएको छ ।
निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार अढाई तले गुम्बाको बेस ढलान गर्नेदिन शनिवार करिव दुईसय जना हाराहारीले श्रम सहयोग गर्नु भएको छ । ‘कतिपय दाताहरुले श्रम कार्यमा संलग्नहरुलाई चिया–खाजा समेत सौजन्य गरेर हामीलाई कार्यप्रति हौसला प्रदान गर्नु भएको छ’गुरुङले भन्नुभयो‘हाम्रो आवह्वान पछि स्फुर्त रुपमा श्रमका लागि आउनेको संख्या लोभलाग्दो रहयो’ । गुम्बाको पुर्ननिर्माण,बुद्धको मूर्ति,छोर्तेन र मूल प्रवेशद्धारका लागि करिव ८ करोड ५० लाख हाराहारीको बजेट लाग्ने अनुमान छ । असार मसान्तसम्ममा करिव ८० लाख बढी रकम दाताहरुबाट सहयोग आइसकेको गुरुङले जानकारी दिनुभयो । यसमा फुङलिङ नगरपालिका र वडा नं ६ को बजेट समेत रहेको छ । चालु आर्थिक बर्षमा कोशी प्रदेश सरकार र नगरपालिकाबाट समेत अनुदान रकम प्राप्त हुनेगरी बजेट र योजनामा समावेश भएको उहाँले जानकारी दिनुभयो । दाताहरुबाट प्राप्त भइरहेको सहयोग,सहयोगका लागि दाताले फुकाएको मन र प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त सहयोग निरन्तर रहे गुम्बा पुर्ननिर्माण कार्य योजना अनुसार नै पूरा हुने उहाँले जानकारी दिनुभयो ।
गुम्बाको भवन निर्माणका लागि मात्रै करिव ४ करोड १३ रुपैयाँको बजेट अनुमान तयार भएको छ । गुम्बा बनिसकेपछि आवश्यक पर्ने गजुर,त्रिमूर्ति तथा ८ वटा छोर्तेनका लागि समेत दाताहरुले सहयोग गर्ने बचन दिईसकेको व्यवस्थापन समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । झण्डै १२ देखि १५ फिट उचाईको बुद्धको प्रतिमा र मूल प्रवेशद्धार निर्माणका लागि पनि दाताहरुसंग आग्रह गरिदैं आएको समितिले जनाएको छ । श्रमदानमा र अन्य आर्थिक तथा भौतिक सहयोगका लागि सबै जाजाति,धर्म,संस्कार र संस्कृतिका मानिसहरुको अग्रसरता देख्दा विविधता भित्रको एकताको सन्देश पनि गएको व्यवस्थापन समिति अध्यक्ष गुरुङ बताउँनुहुन्छ ।
गुम्बा क्षेत्रलाई ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिकै रहेको मनोरम पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएर गुम्बा पुर्ननिर्माण र अन्य आवश्यक संरचना बनाउने योजना लिएको व्यवस्थापन समितिले बताएको छ । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङका अध्यक्ष गंगाराम गुरुङ गुम्बाबाट आधा ताप्लेजुङ अवलोकन गर्न सकिने र सदरमुकाम नजिकैको क्षेत्र भएकोले गुम्बा पुर्ननिर्माणसंगै गुम्बा क्षेत्र एक आर्कषक पर्यटकीय स्थल हुने बताउँनुहुन्छ । २०४७ सालमा बनेको गुम्बा जीर्ण भएसंगै गुम्बालाई आधुनिक कला र कौशलका आधारमा २०८२ साल मंसिर १२ गतेबाट पुर्ननिर्माण गर्न थालिएको हो ।