ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेश स्तरीय ब्याट मिन्टन प्रतियोगिता सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा बिहीबारबाट तेस्रो पाथीभरा याङवरक कोशी प्रदेश स्तरीय ब्याट मिन्टन प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको पालिका अध्यक्ष केशरकुमार सुब्बाले शुभारम्भ गर्नु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष सुब्बाले खेलाडी उत्पादन,खेलाडीको क्षमता विकास र प्रतिभा पहिचान तथा सम्मानका लागि यस्ता प्रतियोगिताहरु पालिकाले महत्वका साथ आयोजना गर्ने गरेको बताउनुभयो । विकास बहुआयामिक बिषय भएको बताउँदै पालिका अध्यक्ष सुब्बाले खेलकुद स्वास्थ्य लाभका लागि मात्रै नभई राष्ट्रको योगदानका लागि समेत हुने भएकोले‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’भनिएको बताउनुभयो । ब्याट मिन्टन र भलिबलसहितका खेलका लागि पाथीभरा याङवरक उर्जा र उत्साहको क्षेत्र भएको उहाँको भनाई थियो । पाथीभरा याङवरक गाउँपालिकाले आमन्त्रित प्रतियोगिताहरुमा बिजेता भएर ल्याएको पुरस्कार राशीमा उतिनै रकम थपेर खेलाडीलाई प्रोत्साहन रकम दिदैं आएको समेत पालिका अध्यक्ष सुब्बाले बताउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै पालिका उपाध्यक्ष रनमाया गुरुङले विकास,अनुशासन र गतिशिलता’खेलकुदका तीन खम्बा भएको बताउँदै तीन खम्बालाई एकसाथ पालना गर्न सकेमा खेलक्षेत्र बलियो र विश्वसनीय हुने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकास र प्रर्वद्धनलाई पालिकाले उच्च महत्व दिएको समेत जानकारी दिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोखरेलले खेलकुद क्षेत्रको प्रर्वद्धन र उन्नयनका लागि पालिकाले दिदैं आएको महत्व आगामी दिनमा समेत निरन्तर हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा जिल्ला ब्याट मिन्टन संघका अध्यक्ष सुरेश सिंघक,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले आ–आफ्नो धारणा राख्नुभयो । पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको संयोजनमा भएको प्रतियोगिताको समापन गर्दै उद्घाटन सभामा अध्यक्ष एवम् शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ठाकुर प्रधानले पालिकाले खेलकुद क्षेत्रको प्रर्वद्धनमा कुनै कसर बाँकी नराखेको र यस्ता कार्यले निरन्तरता पाउने बताउनुभयो ।

प्रधानका अनुसार प्रतियोगितामा ६ बिधाका खेल हुने भएका छन् । प्रतियोगितामा मेन्स डबल सिनियरका बिजेताले ४० हजार,उपबिजेताले २५ हजार र सेमीफाईनल पुग्नेहरुले ७ हजार ५ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । ४५ बर्ष माथि उमेर समूहको भेट्रान्स डबल प्रतियोगिताका बिजेताले ३० हजार,उपबिजेताले २० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो । मिक्स डबलका बिजेताले २५ हजार,उपबिजेताले १५ हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । कर्मचारी र जनप्रतिनिधि डबलतर्फको प्रतियोगिताका बिजेताले २० हजार,उपबिजेताले १० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ । पाथीभरा याङवरक गाउँपालिका स्तरीय प्रतियोगिताका बिजेताले १० हजार र उपबिजेताले ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो ।

Similar Posts