चारपाटे क्षेत्रमा स्थापित बुद्धको मुर्तिको गरियो अनावरण

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १३ । धार्मिक महत्व बोकेको ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ को चारपाटेमा बुधवार बुद्धको मुर्तिको प्रतिमा अनावरण गरिएको छ ।

कोशी प्रदेश सरकारको लगानी र अन्य जनश्रमदान समेत जुटाई स्थानीय समुदायद्धारा निर्मित उपभोक्ता समितिमार्फत बुद्धको मुर्ति स्थापना गरिएको हो । २० लाख रुपैयाँको लगानीमा निर्मित बुद्धको मुर्तिलाई स्थापित गरी कोशी सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले अनावरण गर्नु भएको छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै हाङगामले चारपाटे क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनाको महत्व देखेर आफुले बुद्धको मुर्ति स्थापना गर्ने कार्यमा पहलकदमी गरेको बताउनुभयो ।

निर्माण उपभोक्ता समिति अध्यक्ष टेकराज गुरुङका अनुसार बौद्धिक धार्मिक परम्परा अनुसार पूजा पाठ र धार्मिक अनुष्ठान गरी बिहीबार मुर्तिको अनवारण गरिएको हो । मुर्ति अनावरण अघि बौद्धिक परम्परा अनुसार १ सय ८ वटा दीप प्रज्वलन गरी चारपाटे क्षेत्रमा रहेको ठूलो ढुङ्गालाई परिक्रमा गरिएको थियो । चारपाटे क्षेत्र धार्मिक हिसावले महत्वपूर्ण र पर्यटकीय हिसावले रमणीय बन्दै गईरहेको छ । चारपाटे क्षेत्रबाट वरपरको दृश्यावलोकन गर्न सहज मात्र नभई वरपरको प्राकृतिक वातावरण समेत उत्तिकै मनोरम रहेको छ ।

पूर्वाधारको समेत विकास हुँदै गरेको चारपाटे क्षेत्रमा रहेको ठूलो ढुङ्गा क्षेत्र धार्मिक हिसावले समेत उत्तिकै महत्वको रहेको स्थानीय छविरमण गुरुङ बताउनुहुन्छ । बुद्धको मुर्ति अनावरण कार्यक्रममा कोशी सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य निर्मला तावा,जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङखिम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधि,जातीय तथा धार्मिक संस्थाका प्रमुख तथा प्रतिनिधि,स्थानीय आमा समूहका पदाधिकारी तथा सदस्य र स्थानीय समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

 

Similar Posts