हाङदेवा खोलामा निर्माण हुने मोटरेवल पुलको शिलान्यास

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ र १० जोड्ने हाङदेवा खोलामा निर्माण हुने मोटरेवल पुलको शुक्रवार शिलान्यास गरिएको छ ।

कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोले निर्माण हुने उक्त मोटरेवल पुलको शिलान्यास गर्नु भएको हो । ३ करोड ६१ लाख ४३ हजार १०८ रुपैयाँ ९६ पैसामा निर्माण हुने उक्त पुल रामचन्द्र–अरुण प्रमाण जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय ताप्लेजुङका प्रमुख सिडिई कुमार किसलय कर्णका अनुसार निर्माण कम्पनी २०८४ साल चैत ८ गते भित्र पूरा गरिसक्नुपर्ने सम्झौता रहेको छ ।

२५.६५ मिटर लामो उक्त पुलको शिलान्यास गर्दै कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री मेन्याङ्वोले उक्त पुलले नगरपालिकाका दुईवटा वडालाई जोड्ने मात्र नभई नगरपालिका र फक्ताङलुङ गाउँपालिका सहितका उत्तरी क्षेत्रको यातायात सहजता स्थापित गर्ने बताउनुभयो । नेपाल र चीनको स्वसासित क्षेत्र तिब्बतको सीमा क्षेत्र टिपतालासम्म जान यो पुल मार्गको रुपमा रहने छ । शिलान्यास कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,जिल्ला समन्वय समिति सदस्य भूपाल मादेन,फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङ सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

Similar Posts