ताप्लेजुङबाट ९ वटा बैबाहिक अंगीकृत नागरिकता जारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । आर्थिक बर्ष २०८२।८३ को एकबर्षे अवधिमा ताप्लेजुङबाट ९ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार अघिल्लो आवमा ७ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका थिए । अघिल्लो आर्थिक बर्षमा ८ जनाले गैर आवासीय नेपाली नागरिकता लिएको आव २०८२।८३ मा भने एकजनाले पनि गैर आवासीय नेपाली नागरिकता नलिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले एकबर्षको अवधिमा ९ हजार २५ जनालाई कार्यालय प्रयोजनमा प्रयोग हुने विभिन्न कागजातको निःशुल्क फोटोकपी उपलब्ध गराएको छ । अघिल्लो आवमा ५ हजार २ सय ८५ जनाले यस्तो सुविधा लिएका थिए ।
एक आर्थिक बर्षको अवधिमा प्रशासन कार्यालयले ३ हजार ४ सय ४८ जनाले वंशजका आधारमा नयाँ नागरिकता तथा २ हजार ७ सय ८२ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रशासन कार्यालयले जनाएको छ । अघिल्लो आवमा भने ३ हजार ४ सय ८९ जनाले वंशजका आधारमा नयाँ नागरिकता तथा २ हजार ६ सय १५ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । अघिल्लो आवमा ३२ जनाले मात्र नेपाल–चीन यात्रा अनुमतिपत्र सिफारिस लिएकोमा आव २०८२।८३ मा भने ८० जनाले उक्त प्रकृतिको सिफारिस लगेका छन् । आव २०८२।८३ मा १२ जनाले तिब्बती शरणार्थी परिचयपत्रको नविकरण गरेका छन् । अघिल्लो आवमा यो संख्या ११ मात्र थियो ।
आव २०८२।८३ मा सो भन्दा अघिल्लो आव भन्दा कम मात्र हात हतियार नविकरण भएको छ । प्रशासन कार्यालयका अनुसार आव २०८२।८३ मा ३३ वटा हातहतियारको नविकरण भएको छ । सो भन्दा अघिल्लो आवमा ४७ वटा हातहतियारको नविकरण भएको थियो । आव २०८२।८३ मा हातहतियारको नामसारी भएन । सो भन्दा अघिल्लो आवमा १ थान हातहतियारको नामसारी भएको थियो । आव २०८२।८३ मा नावालक परिचयपत्र जारी र संस्था नविकरणको संख्या सो भन्दा अघिल्लो आवको तुलनामा घटेको छ ।
सहायक प्रजिअ भट्टराईका अनुसार आव २०८२।८३ मा ७९ वटा नावालक परिचयपत्र जारी भएको छ भने ८१ वटा संस्थाको नविकरण भएको छ । सो भन्दा अघिल्लो आवमा ९५ वटा नावालक परिचयपत्र जारी हुँदा ९२ वटा संस्थाको नविकरण भएको थियो । आव २०८२।८३ मा जिल्ला प्रशासन कार्यालयमा ७ वटा भ्रष्टाचार सम्वन्धी मुद्दा दर्ता भएकोमा ५ वटाको किनारा लगाईएको छ । अभद्र व्यवहारका ३२ वटा मुद्दा दर्ता भएकोमा २८ वटा किनारा लगाईएको प्रशासन कार्यालयले जनाएको छ ।
आव २०८२।८३ मा ९ हजार ४ सय ५३ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण भरेका छन् । सो भन्दा अघिल्लो आवमा ७ हजार ५ सय ८५ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण भरेका थिए । अघिल्लो आवमा १ हजार ३ सय ८४ जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएकोमा आव २०८२।८३ मा भने ६ सय २ जनालाई मात्र बितरण गरिएको छ । राष्ट्रिय परिचयपत्र बितरणका लागि सम्वन्धित स्थानीय तह र वडा कार्यालयमा पठाइने भएकोले बितरण संख्या साविक भन्दा कम देखिन गएको बताईएको छ ।