मैवाखोलाको बजेट ४३ करोड ६१ लाख रुपैयाँको,अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३।८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार ८० रुपैयाँको बजेट ल्याएको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले १९ औं बजेट अधिबेशनको तेस्रो बैठकमा मंगलवार उक्त बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । पालिका उपाध्यक्ष लिम्बूका अनुसार उक्त बजेटको स्रोत व्यहोर्ने क्षेत्रको रुपमा वित्तीय समानीकरण संघतर्फ ९ करोड ५३ लाख र प्रदेशतर्फ ८४ लाख ८९ हजार,सर्शत अनुदान संघतर्फ १६ करोड ४४ लाख,सर्शत अनुदान पुँजीगत ४३ लाख र सर्शत अनुदान प्रदेश ४४ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
पालिकाले आन्तरिक आय ७२ लाख ७ हजार ५ सय ६३ रुपैयाँ हुने अनुमान गरेको छ । आन्तरिक आय मौज्दात २ करोड ८२ लाख ६७ हजार ९३ रुपैयाँ,राजश्व बाँडफाँड संघतर्फ ७ करोड ५३ लाख ५८ हजार,राजश्व बाँडफाँड प्रदेशतर्फ ५३ लाख ४६ हजार ३ सय ४४ रुपैयाँ,बिशेष अनुदान संघ १ करोड ६० लाख,समपूरक अनुदान संघतर्फ ३५ लाख,समपूरक अनुदान प्रदेश १ करोड ६० लाख र गैर सरकारी संस्थाहरुबाट ७५ लाख ६६ हजार ८० रुपैयाँ हुने गरी पालिकाले स्रोत अनुमान गरेको छ ।
मैवाखोला गाउँपालिकाले २०८३ साल जेठ २७ गते आगामी आवका लागि नीति र कार्यक्रम सभामा पेश गरी पारित गरिसकेको छ । मैवाखोलाले ताप्लेजुङका ९ स्थानीय तहमध्ये सबैभन्दा पहिला नीति तथा कार्यक्रम सभामा पेश गरी पारित गरेको थियो भने बजेट भने असार ९ गते ल्याएको हो । यहाँको सिदिङ्वा गाउँपालिकाले असार ७ गते आगामी आवका लागि नीति,कार्यक्रम र बजेट सभामा पेश गरिसकेको छ । मंगलवार ताप्लेजुङका सिरिजङ्गा तथा मेरिङदेन गाउँपालिकाले बजेट सभामा पेश गरेका छन् ।
सिरिजङ्गाले असार ८ गते सोमवार नीति तथा कार्यक्रम सभाबाट पारित गरी बजेट मात्र मंगलवार ल्याएको हो भने मेरिङदेनले भने मंगलवार एकैदिन नीति,कार्यक्रम र बजेट सभामा पेश गरेको जनाएको छ । पालिकाले आउँदो आर्थिक बर्षबाट दलित र अति विपन्न परिवारका सदस्यहरुको स्वास्थ्य बीमा गर्न अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । करिव १ हजार घरधुरी परिवारका सदस्यको स्वास्थ्य बीमा कार्यक्रमको प्रिमियम शुल्क पालिकाले तिरिदिने गरी अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने पालिकाले बजेटमार्फत घोषणा गरेको हो ।