सिरिजङ्गाको बजेट ६० करोड बढीको,हाम्रो सिरिजङ्गा,सबैको गौरव नारा तय

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक बर्ष २०८३।८४ का लागि ६० करोड ४२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

सभामा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले सभामा ६० करोड ४२ लाख ९ हजार ५ सय ४० रुपैयाँको बजेट पेश गर्नु भएको छ । कुल बजेटमध्ये चालुतर्फ ३७ करोड २९ लाख २५ हजार ५ सय ४५ रुपैयाँ र पुँजीगततर्फ २३ करोड १२ लाख ८३ हजार ९ सय ९५ रुपैयाँ रहेको छ । सभामा पालिका अध्यक्ष लालकृष्ण चौहानले आगामी आवका लागि नीति तथा कार्यक्रम पेश गर्नु भएको छ । पालिका अध्यक्ष चौहानद्धारा प्रस्तुत नीति तथा कार्यक्रम अन्तरगत पालिकाले ‘हाम्रो सिरिजङ्गा,सबैको गौरव’भन्ने नारा तय गर्दै खेलकुद र पर्यटन प्रर्वद्धनलाई ध्यान दिईएको छ ।

कञ्चनजंघा अल्ट्रा म्याराथनमार्फत कम्तिमा २ हजार ५ सय आन्तरिक तथा बाह्य पर्यटक पालिका क्षेत्रमा भित्र्याउने,पालिकामा निमार्णाधिन १० शैयाको अस्पताल निर्माण कार्य पूरा गरी तत्काल सञ्चालनमा ल्याइने,मुख्य सडकले छोएको जग्गाको लगत कट्टा गरी सडक कायम गरिने,पालिकाको केन्द्र तेल्लोकलाई धुलो रहित बनाउन पक्की सडक निर्माण कार्य अघि बढाईने,जेष्ठ नागरिक सिरिजङ्गा दन्त उपहार कार्यक्रम र प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा कायम रहेको निःशुल्क पोष्टमार्टमको व्यवस्थालाई आगामी आवमा समेत निरन्तरता दिइने,बिद्यालय तहबाटै खेलकुदलाई बिशेष प्राथमिकता दिन खेल प्रशिक्षक राख्ने व्यवस्थालाई यसबर्ष समेत निरन्तरता दिइने,कक्षा ४ देखि ९ सम्मका बिद्यालयमा हुने बार्षिक परीक्षा पालिकाकै खर्च र नियमन हुनेगरी व्यवस्था मिलाईने भनिएको छ ।

तेल्लोक मावि र राष्ट्रिय मावि पेदाङको जग्गा अधिग्रहणका गरी खेल मैदान बिस्तार गरिने,पालिका केन्द्रमा बहुउद्देश्यीय कर्भडहल निर्माण गरिने,गोलिया काठ निकासीलाई करको दाहेरामा ल्याउन थप प्रभावकारी नीति तथा कार्यविधि तय गरिने,विपद् व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाउने कार्यक्रम तय गरिने पालिकाको नीति रहेको छ ।

Similar Posts