स्तनपानको प्रर्वद्धन र आमाको दुध प्रतिस्थापन गर्ने सामाग्रीको प्रयोग न्यूनीकरणमा सरोकारवालाको जोड
उज्यालो पोष्ट
ताप्लेजुङ,असार ८ । ताप्लेजुङका सरोकारवालाले आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्री बितरणको प्रर्वद्धन नगर्ने प्रतिबद्धता सहित स्तनपान संरक्षण अनिवार्य रहेकोमा जोड दिएका छन् ।
फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार आयोजना गरेको एक कार्यक्रममा बच्चालाई कम्तिमा दुईबर्षसम्म नियमित स्तनपान अनिवार्य रहेकोमा जोड दिईएको थियो । कार्यक्रममा फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङले आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्री बितरण ऐन २०४९ तथा नियमावली २०५१ का बिभिन्न प्रावधान बारे जानकारी गराउनु भएको थियो । स्तपान संरक्षण र प्रर्वद्धन गर्ने,स्तनपानलाई अनिवार्य गराउने र आमाको दुध प्रतिस्थापन गर्ने सामग्रीको प्रयोगलाई न्यूनीकरण गर्ने विभिन्न सवालका बारेमा जानकारी अभिमुखीकरण गरिएको फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन र सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले स्तनपानको संरक्षण र आमाको दुध प्रतिस्थापन गर्ने सामाग्रीको न्यूनीकरणका विभिन्न आयम बारे प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु,सामाजिक संघसंस्थाका प्रतिनिधि,मेडिकल सञ्चालक र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । आमाको दूधलाई प्रतिस्धापन गर्ने बस्तु (विक्री बितरण नियन्त्रण) ऐन २०४९ को दफा ९ को उपदफा (६)को (घ)मा आमाको दूधलाई प्रतिस्धापन गर्ने बस्तुहरु विक्रीका लागि राखिँदा डिस्प्ले गर्न नपाइने व्यवस्था छ । यस्तै आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको प्याकेटमा बच्चाको लागि स्तनपान सबैभन्दा असल दुध हो भन्ने व्यहोराको सन्देश अनिवार्य राख्नुपर्ने ऐनको दफा ११ को उपदफा ६ को (ख)मा उल्लेख छ । यसबाहेक आमाको दुध प्रतिस्थापन गर्ने बस्तु सबैले देख्न गरी राख्न नहुने,यसको प्रयोगमा बढावा दिनेगरी प्रर्वद्धन गर्न नहुने,उत्पादनको नमूना दिन नहुने जस्ता बिषय ऐनमा उल्लेख गरिएका छन् । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खवासका अनुसार स्तनपानको प्रर्वद्धन र आमाको दुध प्रतिस्थापन गर्ने बस्तुको उपयोग तथा उपभोगमा न्यूनीकरणको सन्देश सबैले प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।