पाँचथरका राई दोस्रो सिरिजङ्गा म्याराथनको उपाधि बिजेता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १७ । पाँचथरका बिशाल राईले दोस्रो सिरिजङ्गा पर्यटन महोत्सव खुल्ला म्याराथनतर्फको उपाधि जित्नु भएको छ ।

२४ प्रतिश्र्धीलाई उछिन्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्दै म्याराथनको उपाधि जित्नु भएको हो । सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाईको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो । ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेण्डमा दूरी पार गर्दा द्धितीय बन्नुभयो । पाँचथरका प्रताप थाम्सुहाङले ५ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा दूरी पार गर्दै तृतीय बन्नु भएको म्याराथन संयोजक अमिर राईले जानकारी दिनुभयो ।

म्याराथनका विजेताले १ सय ९६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८६ रुपैयाँ नगद पुरस्कार पाएका छन् । राईका अनुसार ट्रफी पच गर्नका लागि भने एकै धावकले तीन पटक उपाधि जित्नुपर्ने हुन्छ । म्याराथनमा दोस्रो हुनेले ५८ हजार ५८६ रुपैयाँ र तेस्रो हुनेले २८ हजार ५८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले जित्नु भएको थियो ।

सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गरिएको क्लबका सचिव नरेश गुरुङले जानकारी दिनुभयो । जेठ १५ देखि सुरु भएको महोत्सव सञ्चालनका लागि करिब ३० लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएकोमा गाउँपालिकाले १६ लाख रुपैंयाँ बजेट विनियोजन गरेको र अन्य सहयोगी संस्था तथा दाताको सहकार्यमा महोत्सव सम्पन्न गरिने सहआयोजक खेवाङ स्पोर्टिङ क्लवले जनाएको छ ।

Similar Posts