सिदिङ्वाद्धारा असार ७ मै बजेट ल्याउने तयारी
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले असार ७ गते नै आगामी आर्थिक बर्षका लागि नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार पालिका अध्यक्ष मानबहादुर राईले असार ७ गते आइतबारका लागि पालिकाको १९ औं गाउँसभा अधिबेशन आवह्वान गर्नु भएको छ । गाउँसभा अधिबेशनमा आर्थिक बर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । अधिबेशनमा सिदिङ्वा गाउँपालिकाको आर्थिक बिधयेक २०८३,बिनियोजन बिधयेक २०८३ र मध्यकालिन खर्च संरचना २०८३।०८४–२०८५।०८६ पेश हुने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिवाका अनुसार सभामा बिषयगत समिति सञ्चालन तथा व्यवस्थापन कार्यविधि,बेरुजु फर्स्योट कार्यविधि,अर्थ तथा सार्वजनिक लेखा समिति कार्य सञ्चालन कार्यविधि,गाउँसभा सचिवालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि,पालिकाको स्थानीय अनुकूलन कार्ययोजना,अर्थ तथा सार्वजनिक लेखा समितिले पेश गरेको नियमित गर्नुपर्ने बेरुजु फर्स्योट,पालिकाका केहि ऐन संशोधन बिधयेक र पालिकाको संगठन तथा व्यवस्थापन सर्बेक्षण २०८३ सभामा पेश गर्ने कार्यसूची रहेको पालिकाले जनाएको छ ।