फुङलिङ बजार भित्रको सडक सीमा १५ मिटर हुने गरी सडक सीमा क्षेत्र संशोधन गर्न फुङलिङ नगरपालिकाको माग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्ग अन्तरगत फुङलिङ बजार भित्रको सडक सीमा १५ मिटर कायम हुनेगरी सडक सीमाको क्षेत्र संशोधन गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख अमिर मादेनले बषौंदेखि बसोबास गरि आएका नगरवासीलाई तत्काल घरबारबिहिन बनाउने गरी सरकारबाट जारी भएको सडक सीमाको ३० मिटर क्षेत्रलाई पुर्नविचार गरी दायाँ र बायाँ ७.५–७.५ मिटर हुनेगरी सडक सीमाको विगतको सडक सीमाक्षेत्र संशोधनका नगर कार्यपालिकाले लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मादेनका अनुसार नगर कार्यपालिकाको यही जेठ २२ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरी नेपाल सरकार समक्ष अनुरोध गरिएको छ । २०८३ साल जेठ १३ गते सडक डिभिजन कार्यालय इलामबाट मेची राजमार्गको सडक सीमा क्षेत्र सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर भएको भन्दै उक्त क्षेत्रभित्र रहेका संरचना हटाउन ३५ दिने सूचना जारी भएको थियो ।

नगरप्रमुख मादेनले मेची राजमार्ग अन्तरगत फुङलिङ नगर क्षेत्र भित्र विगत बर्षहरुमा नै घर संरचना निर्माण गरी बसोबास गरिरहेका नगरबासीको जनजीवनमा प्रतिकुल प्रभाव पर्ने भएकोले नगर क्षेत्र भित्र सडकको सीमा सम्वन्धी व्यवस्था संशोधन गरि सहज वातावरण बनाइदिन नेपाल सरकारलाई अनुरोध गरिएको जानकारी दिनुभयो । मेची राजमार्गको दायाँ–बायाँ क्षेत्रमा घर संरचना निर्माणमा रोक लगाउने वा हटाउने सम्वन्धमा विगतमा नेपाल सरकारबाट भएको कमजोर नियमनका कारण लामो समय देखि मेची राजमार्गको दायाँ–बायाँ क्षेत्रमा घर निर्माण गरी बसोबास तथा व्यपार गर्दै आएका घरधनीलाई घर टहरा हटाउन प्रदान भएको समय अत्यन्त छोटो भएकोले नगर क्षेत्र आतंकित भएको नगरप्रमुख मादेनले भन्नु भएको छ । तमोर करिडोर सडक फुङलिङ नगरपालिका वडा नं १ र २ बाट ओलाङचुङगोला हुँदै चीनको स्वशासित क्षेत्र तिब्बततर्फ जाने सडक फुङलिङ नगर क्षेत्रको बजार भन्दा तल बहानन्देबाट उता गएकोले मेची राजमार्गको फुङलिङ बजार क्षेत्रमा तत्काल सडकको सीमा ३० मिटर आवश्यक नरहेको समेत नगरप्रमुख मादेनले भन्नु भएको छ ।

Similar Posts