अध्यक्ष स्वास्थ्य सहयोग कोषबाट मैवाखोलामा अघिल्लो आवमा ६ दीर्घरोगी लाभान्वित,पाए ५ लाख बढी रकम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२।८३ मा अध्यक्ष स्वास्थ्य सहयोग कोषबाट दीर्घरोगीहरुलाई ५ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ ।

पालिकाले प्रकाशित गरेको बार्षिक प्रगति पुस्तिका अनुसार पालिकाले ६ जना दीर्घरोगीहरुलाई अध्यक्ष स्वास्थ्य सहयोग कोषबाट आर्थिक सहायता प्रदान गरेको छ । पालिकाका अनुसार तीनजना मृगौला रोगी र एक–एकजना हड्डी तथा स्तन क्यान्सर भएका रोगीलाई आर्थिक सहायता प्रदान गरिएको छ । मैवाखोला वडा नं १ का यसोदा लक्सम,वडा नं ४ का पासाङरीमा शेर्पा र वडा नं २ का सार्की तामाङलाई जनही ७० हजार रुपैयाँका दरले र मैवाखोला वडा नं ५ मनिता लिम्बू,वडा नं ६ का प्रेमकुमार नेयोङ र वडा नं ३ का बुद्धिमाया लिम्बूलाई जनही १ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको पालिकाले प्रकाशित गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । पालिकाले दीर्घरोगीहरुलाई आर्थिक सहायता प्रदान गर्ने सम्वन्धी कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ ।

पालिकाले एक आर्थिक बर्षभरीमा जेष्ठ नागरिक र अपाङ्गता(क र ख वर्ग)भएका ६ सय १६ जना नागरिकलाई घरमै जाँच तथा उपचार सेवा प्रदान गरेको छ । पालिकाका अनुसार वडा नं १ मा १ सय ११ जना,वडा नं २ मा १ सय ३० जना,वडा नं ३ मा ९६ जना,वडा नं ४ मा ९० जना,वडा नं ५ मा १ सय १ जना र वडा नं ६ मा ८८ जनाले उक्त सेवा लिएका छन् । एक आर्थिक बर्षमा पालिका बर्थिङ सेन्टर र स्वास्थ्य संस्थाबाट संस्थागत सुत्केरी हुने महिलाको संख्या ६६ जना रहेको । पालिकाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र ढुङगेसाँघु,साँघु स्वास्थ्य चौकी र फाकुम्बा स्वास्थ्य चौकीमा २२–२२ जना महिला संस्थागत सुत्केरी भएका छन् ।

पालिकाले एक आर्थिक बर्षमा ९ सय ६९ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेको जनाएको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीकै हातमा नगद दिने,कानुनले तोकेको अति अशक्त अशक्त लाभग्राहीका संरक्षकलाई सासुभत्ता दिने,लाभग्राही बैंकसम्म हिंडेर आउने असहजताको अन्त्य गरी वडा कार्यालय वा घरमै गएर पनि सासुभत्ताा दिने,कानुनले तोकेको ९० बर्ष माथि,पूर्ण अपाङ्ग र जटिल किसिमको रोगका कारण वडा आउन नसक्ने लाभग्राहीको मञ्जुरीनामा बमोजिम आफन्त संरक्षक राख्न पाउने विकल्प अघि सारेको छ । पालिकाले विपन्न नागरिक कार्यक्रम अन्तरगत स्वास्थ्य सेवाका लागि ६ महिला र ४ पुरुष गरी १० जनालाई सिफारिस गरेको छ ।

Similar Posts