विज्ञापन प्रकाशन प्रसारणबारेको सरकारी निर्णय बिरुद्ध ताप्लेजुङका सञ्चारकर्मीको धर्ना
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २७ । सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने सरकारी निर्णय खारेजीको माग गर्दै बुधवार ताप्लेजुङका सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीले प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार अगाडि धर्ना दिएका छन् । आचार्यले सरकारले सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेर निजी सञ्चार संस्थाहरु बन्द गराउनेसम्मको अनुचित प्रयास गरेको बिरोधमा धर्ना दिएको जानकारी दिनुभयो।
धर्ना पछि सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँइलाई भेटी सरकारको उक्त निर्णय खारेजीका लागि ताप्लेजुङका सञ्चारकर्मीहरु नियमित रुपमा आन्दोलित भइरहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालय समक्ष पठाइदिन आग्रह गरेका छन् ।