पसलहरुमा सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन र प्रर्वद्धन हुने प्रायोजित होर्डिङबोर्ड राख्न नपाइने
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १७ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रायोजन भइ टाँस भएका होर्डिङबोर्ड हटाउन लगाईएको छ ।
मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको होर्डिङ बोर्ड मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ उत्पादकले प्रायोजन गरी टाँस गरेको हकमा हटाईएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । विश्व धुमपान रहित दिवसको अवसर पारेर आइतवार फुङलिङमा मदिरा तथा सूर्तिजन्य पदार्थको बिक्री बितरण गर्ने पसलको अनुगमन गरिएको थियो । सहायक प्रजिअ भट्टराईले सार्वजनिक स्थलमा धुमपान तथा सूर्तिजन्य पदार्थको सेवन गरे नगरेको सहितका अनुगमन समेत गरिएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालले सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन,प्रर्वद्धन र प्रायोजन हुनेगरी कुनै कम्पनीद्धारा प्रायोजित होर्डिङ बोर्ड राख्न नपाउने व्यवस्था अनुसार हटाईएको जानकारी दिनुभयो ।
अनुगमन समितिले सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन,प्रर्वद्धन र प्रायोजन हुनेगरी कुनै कम्पनीद्धारा प्रायोजित होर्डिङ बोर्ड नराख्न र राखेको भए त्यसलाई बिस्थापन गर्न समेत आग्रह गरेको छ । अनुगमन समितिले सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन,प्रर्वद्धन र प्रायोजन हुनेगरी राखिएका फ्लेक्स,भित्ते लेखन सहितका कार्य हटाउन समेत व्यवसायीलाई आग्रह गरेको छ । अनुगमन समितिले १८ बर्ष नपुगेका व्यक्ति तथा गर्भवती महिलालाई सूर्तिजन्य पदार्थको बिक्री बितरण तथा ओसारपसार गर्न नलगाउन समेत आग्रह गरेको छ ।
शिक्षण संस्था,स्वास्थ्य संस्था,बाल कल्याण गृह,बृद्धाश्रम,अनाथालय जस्ता सार्वजनिक स्थलको परिसरबाट कम्तिमा एकसय मिटर दूरी भित्रको घर पसलबाट सूर्तिजन्य पदार्थको बिक्री बितरण गर्न नपाउने व्यवस्था बारे समेत व्यवसायीलाई अवगत गराईएको समेत अनुगमन समितिले जनाएको छ । सूर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्वन्धी निर्देशिका २०७१ को व्यवस्था अनुसार स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा आइतवार अनुगमन तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको संयोजनकारी निकाय स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।