प्रभातफेरी र शुभकामना आदान–प्रदानसहित ताप्लेजुङमा मनाईयो ११ औं संविधान दिवस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३ । ११ औं संविधान दिवसको अवसरमा शनिवार ताप्लेजुङका प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न राजनीतिक दलका अगुवा,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी कर्मचारी,राष्ट्रसेवक कर्मचारी,उद्योगी व्यवसायी,नागरिक समाजका अगुवा र विभिन्न जातजाति र धर्म संस्कारको पहिरनमा सजिएका लिटलबुद्ध बोर्डिङ स्कुलका बिद्यार्थीको अगुवाईमा तोक्मेडाँडाबाट वीरेन्द्रचौकसम्म प्रभातफेरी कार्यक्रम गरिएको छ ।

जिल्ला समन्वय समितिको अगुवाईमा भएको प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल,जिल्ला समन्वय समिति सदस्य हेमन्ता मिश्र पौडेल र लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले नेपालको संविधान र संबिधान कार्यान्वयनमा सरोकारवालाको भूमिका बारे आ–आफ्नो धारणा राख्नु भएको थियो ।

संविधान दिवस २०८२३ को अवसरमा शुक्रवार तोक्मे नर्सरी क्षेत्र देखि भेडाघरसम्मको पदमार्ग सफाईका साथ डिभिजन वन कार्यालयको आर्थिक व्यवस्थापनमा फोहोर फाल्ने भाँडाड(डस्बिन)समेत राखिएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो ।

११ औं संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङको आयोजनामा कक्षा ८ देखि स्नातक तहसम्म अध्ययन गर्ने बिद्यार्थीहरुका बिचमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत भएको थियो । उक्त वक्तृत्वकला प्रतियोगिताबाट प्रथम भई कोशी प्रदेश स्तरीय प्रतियोगितामा ताप्लेजुङबाट सहभागी पाथीभरा याङवरक गाउँपालिकाको वडा नं ३ तिरिङ्गेस्थित कुम्भकर्ण आधारभूत बिद्यालयका १२ बर्षे बिद्यार्थी रफिक भट्टराई कोशी प्रदेशमा प्रथम भई नगद २० हजार रुपैयाँसहित पुरस्कृत हुनु भएको छ । जिल्ला स्तरीय प्रतियोगिताका प्रथम उहाँले नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनु भएको थियो ।

Similar Posts