दोस्रो सिरिजंघा पर्यटन महोत्सव जेठ १५ देखि १७ गतेसम्म
-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङमा आउँदो जेठ १५ देखि १७ गतेसम्म दोस्रो सिरिजंघा पर्यटन महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव हुन लागेको हो ।
सिरिजंघा गाउँपालिका–१ सिनामस्थित क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै पर्यटन महोत्सवबारे जानकारी गराएको हो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष अम्विका थेबेका अनुसार सिरिजंघा गाउँपालिका–८ याम्फुदिनको छुमादिनमा महोत्सव आयोजना गरिने भएको छ । कञ्चनजंघा हिमालको प्रचारप्रसार र पर्यटन प्रवर्धन तथा दक्षिणी आधार शिविर जाने पदमार्ग स्थापित गरी बाह्य तथा आन्तरिक पर्यटक भिœयाउने उद्देश्यसमेत राखेर महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थेबेले बताउनुभयो ।
महोत्सवमा साहसिक म्याराथन, सांगीतिक कार्यक्रम लगायतका गतिविधि गरिने क्लबका सचिव नरेश गुरुङले जानकारी दिनुभयो । सचिव गुरुङका अनुसार महोत्सवको मुख्य आकर्षणको रुपमा खुला म्याराथन हुने छ । म्याराथनमा सहभागी हुनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुले सम्पर्क गरिरहनुभएको उहाँले बताउनुभयो । म्याराथन कार्यक्रमस्थल निर्धारित ४२ किलोमिटर दुरी छुमादिनदेखि चार हजार २०० मिटर उचाइ रहेको दुन्दुडाँडासम्म पुगेर छुमादिन आइपुग्नुपर्ने छ ।
म्याराथनका विजेताले ११६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८६ रुपियाँ नगद पुरस्कार पाउने सहआयोजक खेवाङ स्पोर्टिङ क्लबका प्रतिनिधि अमिर राईले जानकारी दिनुभयो । राईका अनुसार ट्रफी पच गर्नका लागि भने एकैजना धावकले लगातार म्याराथनमा तीन पटक जित्नुपर्ने अर्थात प्रथम हुनुपर्ने छ । यस्तै म्याराथनमा दोस्रो हुनेले ५८ हजार ५८६ रुपियाँ र तेस्रो हुनेले २८ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यता यसपटकको महोत्सव बोलपत्रको प्रक्रियामार्फत सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबले आयोजना गर्न लागेको हो । सिरिजंघा गाउँपालिकाले १६ लाख बजेटमा महोत्सव आयोजना गर्न बोलपत्र आह्वान गरेको थियो । महोत्सव आयोजना गर्न बोलपत्रको प्रक्रिया भए पनि अन्य सहयोगी दाता तथा निकायसँग साझेदारी र सहयोग लिएर सञ्चालन गर्न पाउनेगरी गाउँपालिकासँग सम्झौता भएको आयोजकले जनाएको छ ।
गाउँपालिकाको सम्झौताअनुसार महोत्सव सञ्चालनका लागि समृद्ध पहाड लगायतका निकाय तथा दाताहरुको सहयोग रहने भएको क्लबका सचिव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव सम्पन्न गर्नका लागि ३० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गत वर्ष बैशाख दोस्रो साता सिरिजंघा गाउँपालिका आफैँ आयोजक भएर सम्पन्न गरिएको प्रथम महोत्सवमा ८४ लाख रुपियाँभन्दा बढी खर्च भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), क्लबका अन्य पदाधिकारी, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।