फुङलिङमा केएचडिसी कार्यक्रममार्फत करिव ११ हजारको स्वास्थ्य परीक्षण,ठूलो संख्या नसर्ने रोगबाट प्रभावित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङको फुङलिमा सञ्चालित(केएचडिसी)नसर्ने रोगको प्राथमिक तहमा रोकथाम,शीघ्र निदान,उपचार तथा व्यवस्थापन कार्यक्रममा झण्डै ११ हजार नागरिकको परीक्षण गरिएको छ ।

केएचडिसी कार्यक्रममार्फत दुई बर्षको अवधिमा भएको प्रगति विवरण प्रस्तुत गर्दै केएचडिसी नेपालका कार्यक्रम संयोजक डाक्टर उज्वल गौतमले १० हजार ८ सय २८ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो । परीक्षणका क्रममा ठूलो संख्यामा नसर्ने रोगबाट प्रभावित भएको पाईएको गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार १० हजार १ सय ७१ जनामा नसर्ने रोगको पूर्ण प्रभाव देखिएको छ । ६ सय ५७ जनामा मात्र नसर्ने रोगको प्रभाव नदेखिएको गौतमले बताउनुभयो ।

कूल परीक्षण गरिएकामध्ये ७ हजार ५ सय ७३ जना भने चिकित्सको परार्मशमा आएका छन् । गौतमका अनुसार जोखिममा देखिएकामध्ये उच्च रक्तचापका २ हजार ५ जना,मधुमेहका ५ सय ९९ जना,मस्तिष्क घातका ३९ जना,कोरोनरी मुटु रोगका ६७ जना र दीर्घ श्वासप्रश्वास र फोक्सोको दीर्घरोगका १ सय ७८ जनालाई डाक्टरको परार्मश तथा उपचारमा संलग्न गरिएको छ ।

२०८० साल चैत १५ गते फुङलिङको फावाखोलास्थित स्वास्थ्य संस्थाबाट सुरु भएको कार्यक्रम अहिले नगरपालिकाकाका सबै स्वास्थ्य संस्थाहरुमा कार्यान्वयनमा रहेको छ । कार्यक्रमको दोस्रो चरण समेत सुरु हुने तयारीमा रहेको समेत जानकारी गराईएको छ । कार्यक्रम अवधिमा १ सय २ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित गरी समुदायसम्म पुगिएको समेत गौतमले जानकारी दिनुभयो । एक व्यक्तिबाट अर्कोमा प्रायःनसर्ने रोगलाई नसर्ने रोग भनिन्छ । यस्ता रोगहरू शरीरको आन्तरिक प्रक्रियामा गडबडी वा असन्तुलन हुँदा देखा पर्छन् ।

नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी,व्यवहार,मानसिक असन्तुलन, हार्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्छन् । यस्ता रोगहरू कहिलेकाहीं वंशाणुगत कारणले सर्ने गर्छन् । नसर्ने रोगहरू प्रायः दीर्घ (क्रोनिक) प्रकारका हुन्छन् । क्यान्सर,मधुमेह, ग्यास्ट्राइटिस,अम्लपित्त,पत्थरी,उच्च रक्तचाप, मुटुका रोगहरू,मिर्गौलाका रोगहरू,हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोग भित्र पर्दछन् ।

फुङलिङ नगरप्रमुख अमिर मादेनको अध्यक्षतामा भएको कार्यक्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका परार्मशदाता प्राध्यापक डाक्टर अनुप घिमिरे,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु,फुङलिङ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,ताप्लेजुङ जिल्ला अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण थापा सहितको सहभागिता रहेको थियो ।

Similar Posts