मंसिर २३ बाट तेल्लोकमा हुने अन्तराष्ट्रिय आमन्त्रण पाँचौं सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १३ । मंसिर २३ गते देखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा हुने अन्तराष्ट्रिय आमन्त्रण पाँचौं सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
सिरिजङ्गा मेलाका साथ हुने सिरिजङ्गा गोल्डकपको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लवको भिडन्त रेडहर्ष फुटबल क्लव इलामसंग हुने भएको छ । दोस्रो खेलमा मंसिर २४ गते न्यूस्टार क्लव बिर्तामोड झापा वाइवाई पाँचथर फुटबल क्लवसंग आमने–सामने हुने छ । तेस्रो खेलमा मंसिर २५ गते पारिजात संघ फुटबल क्लव भारतले मरिक फुटबल क्लव धरानसंग प्रतिश्पर्धा गर्ने छ । पहिलो चरणको अन्तिम खेलमा मंसिर २६ गते साँगुरीगढी फुटबल क्लव धनकुटाले म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुमबिच खेल हुने सार्वजनिक गरिएको खेल तालिकामा उल्लेख गरिएको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)को उपस्थितिमा तेल्लोक स्पोर्टिङ क्लवले खेल तालिका सार्वजनिक गरेको हो ।
क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लव र रेडहर्ष फुटबल क्लव इलामबिचको बिजेता तथा पारिजात संघ फुटबल क्लव भारत र मरिक फुटबल क्लव धरानको बिजेताबिच पहिलो मंसिर २७ गते पहिलो सेमीफाइनल खेल हुने छ । यस्तै दोस्रो सेमीफाइनलमा न्यू स्टार क्लव बिर्तामोड झापा र वाईवाई पाँचथर फुटबल क्लव फिदिमको बिजेता र साँगुरीगढी फुटबल क्लव धनकुटा र म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुमको बिजेता मैदानमा उत्रनेछन् ।
मंसिर २९ गते फाइनल खेल हुने छ । उक्त दिन सिरिजङ्गा लिपिका प्रवद्र्धक,प्रकाण्ड बिद्धान त्येअङ्सी सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्ती पनि हो । सोहि अवसर पारेर उक्त दिन पाँचौं सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलाको समापन गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लवका सचिव रञ्जित मावोले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार ३ सय २१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लवका कोषाध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभयो ।